काठमाडौं । साओमीले माघ १३ गते बिहीवार आफ्नो पछिल्लो रेड्मी नोट सिरिज नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । साओमी नेपालले सामाजिक सञ्जालमा एक टिजर पोस्ट गर्दै रेड्मी नोट ११ सिरिज अन्तर्गत ‘रेड्मी नोट ११’ सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।
गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ को तुलनामा केही फरक विशेषतासहित ग्लाेबल इडिशन सार्वजनिक हुने अनुमान छ । साओमी नेपालका अनुसार याे फाेनमा ९० हर्जको फुलएचडी प्लस एमोलेड डट डिस्प्ले हुनेछ । यस मोडलमा रेड्मी नोट १० को तुलनामा परिमार्जित फिचर रहेका छन् ।
यसअघि सन् २०२१ को अक्टोबरमा रेड्मी नोट ११ फाइभजी, रेड्मी नोट ११ प्रो, रेड्मी नोट ११ प्रो प्लस सार्वजनिक भएको थियो । साथै नोभेम्बरमा रेड्मी नोट ११ फोरजी भेरियन्ट पनि सार्वजनिक भएको थियो ।
रेड्मी नोट ११ मा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल सेन्सर, समान २ मेगा पिक्सेलका अन्य लेन्स छन् । फोनको अगाडि भागमा सेल्फी तथा भिडिओ खिच्न र भिडिओ कल गर्न १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
लामो ब्याकअप प्रदान गर्नका लागि रेड्मी नोट ११ मा ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले यूएसबी टाइप-सी पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । यसलाई कम्पनीले भने ६२ मिनेटमा फूल चार्ज हुने दाबी गरेको छ ।