काठमाडौं । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल टीआईले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक सीपीआई अनुसार नेपाल गत वर्षको झै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ ।
नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गतवर्ष पनि नेपालको स्कोर त्यति नै थियो । १८० वटा मुलुकहरुको बरियताक्रममा नेपाल ११७ औं स्थानमा रहेको छ । नेपालको गत वर्षको अवस्था पनि यस्तै थियो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भनेको छ, ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिन्छ ।’
दक्षिण एसियाली देशको अवस्था कस्तो छ । कुन मुलुकमा कत्तिको सुशासन छ भनी आँकलन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको सीपीआईको सूचकलाई आधार मान्ने गरिएको छ । विभिन्न मुलुकहरुका आम नागरिकसँग प्रश्न गरेर उनीहरुले आफ्नो मुलुकभित्र कत्तिको भ्रष्टाचार छ भनी अनुभूत गर्छन् भन्नेबारेमा सर्वेक्षण गरी यो सूचक सार्वजनिक गरिन्छ ।
दक्षिण एसियाली मुलुकहरुको तुलना गर्ने हो भने नेपालको अवस्था सुधारोन्मुख छैन । भुटानले ६८ अंक पाएको छ भने भारत र माल्दिभ्स ४०, श्रीलंका ३७ अंकका साथ नेपालभन्दा अगाडि छन् । पाकिस्तानले २८, बंगलादेशले २६ अंक पाएका छन् । अफगानिस्तान १६ अंकका साथ सबैभन्दा भ्रष्टाचार हुने मुलुकहरुको चौथो श्रेणीमा छ ।