काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको संख्या घटाउने योजना अघि सारेको छ । लघुवित्त वित्तीय संस्थाको संख्या घटाउन राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका संस्थालाई मर्जर वा एक्विजिसन गराउन निर्देशन दिएको छ ।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले संस्थापक सेयरधनी भएर स्थापना गरेका लघुवित्तलाई लक्षित गर्दै राष्ट्र बैंकले यस्तो योजना ल्याएको हो । त्यस्तै एउटै बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर भएका लघुवित्तबीच पनि मर्जर वा एक्विजिसन गराउने राष्ट्र बैंकको तयारी छ । त्यस्ता संस्थालाई असारभित्र मर्जर वा एक्विजिसनको कार्ययोजना पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।