काठमाडौं । नेपाल आयल निगमको मासिक घाटा ३ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ । डिसेम्बर १६ मा प्राप्त मूल्य सूचीअनुसार निगमलाई अहिले पनि पेट्रोलमा ५ रुपैयाँ ४४ पैसा, डिजेलमा २ रुपैयाँ ९२ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताएका छन् ।
सञ्चित घाटा न्यूनीकरण हुन नसक्दा आपूर्ति व्यवस्थामा नै असहज अवस्था पैदा हुने चिन्ता निगमका अधिकारीको छ । घाटा धान्नै नसक्ने अवस्था आएपछि निगमले कर्मचारी आवास व्यवस्था अन्तर्गको तीन अर्ब २६ करोड, बिक्रेता तथा हवाईजहाज कम्पनीको धरौटीबापतको एक अर्ब ४५ करोड, कर्मचारी बोनस व्यवस्थाअन्तर्गतको तीन अर्ब ४७ करोड र ह्रासकोषबाट एक अर्ब ४२ करोड खर्च गरिसकेको छ । निगमले आइओसीलाई चार अर्ब ९६ करोड भुक्तानी गर्न बाँकी छ ।
निगमका अनुसार एलपी ग्यासमा मात्र २ अर्ब, पेट्रोलमा ६८ करोड र डिजेलमा ८२ करोड घाटा छ । कुनै समय मासिक पाँच अर्ब नोक्सानी बेहोर्दै आएको निगमले पछिल्लो समय विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सामान्य गिरावट हुँदा केही राहत महसुस गरे पनि सञ्चित नोक्सानी पूर्ति नहुँदा वित्तीय संकटको अवस्थामा पुगेको हो ।