
पोखरा । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा हरेक वर्ष आयोजना हुँदै आएको सडक महोत्सव विहीबारदेखी सुरु भएको छ। ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको २३ औं पोखरा ‘सडक महोत्सव’ पुस १७ गतेसम्म चल्नेछ।
महोत्सव सहिदचोकदेखी कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्र सम्म भइरहेको छ। महोत्सव अवधिमा सो क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ। फेस्टिबलको पहिलो दिन विहीबार हल्लनचोकबाट सांस्कृतिक झाँकी सहितको र्याली कोमागाने पार्कमा पुगी कार्यक्रमको औपचारिक सुरुवात गरियो।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुंगा दौडजस्ता प्रतियोगिता समावेश गरिएको छ। महोत्सव अवलोकनका लागि पुग्नेलाई रेवानले बिहिबार र शुक्रबार कोभिड विरुद्धको जोनसन एण्ड जोनसनको खोप समेत उपलब्ध गराएको छ।
पोखरा, लुम्बिनी र चितवनका पर्यटकीय क्षेत्रको संयुक्त रुपमा प्रवर्द्धन गरिने
गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पोखरा, लुम्बिनी र चितवनका पर्यटकीय क्षेत्रको संयुक्त रुपमा प्रवर्द्धन गरिने भएको छ ।
लामो समयसम्म कोरोनाले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड गण्डकीको पहलमा तीनै प्रदेशका पोखरा, चितवन र लुम्बिनीलाई समेटेर पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन स्वर्ण त्रिकोण अवधारणा प्रस्ताव गरिएको छ ।
एकै साथ हिमाल, पहाड र तराईका दृश्यलाई नजिकैबाटै नियाल्ने गन्तव्यका रुपमा स्वर्ण त्रिकोणको पर्यटन प्याकेज प्रस्ताव गरिएको हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनी, विश्वकै दुर्लभ एक सिङ्गे गैँडा धेरै सङ्ख्यामा पाइने चितवन र हिमालको काखमा रहेको साहसिक पर्यटनको गन्तव्य पोखरालाई स्वर्ण त्रिकोणका रुपमा जोड्ने लक्ष्यअनुरूप अघिल्लो साता बोर्डका प्रतिनिधि, व्यवसायी र सञ्चारकर्मी सहितको टोलीले चार दिने प्रवर्द्धनात्मक भ्रमण सम्पन्न गरेको छ ।
भ्रमणका क्रममा विद्यमान पर्यटकीय पूर्वाधार, नयाँ पूर्वाधार विकासको सम्भावना, चुनौती लगायतका विषयमा अवलोकन तथा छलफल समेत गरिएको थियो । पोखरा, चितवन र लुम्बिनी नेपाल घुम्ने जो कोहीले नछुटाउने गन्तव्यका रुपमा स्थापित भइसकेका छन् ।
हवाई तथा स्थल मार्ग दुबैबाट जोडिएका यी तीन वटै स्थानको यात्रा जहाँबाट सुरु गर्दा पनि हुन्छ । सामान्यतः एक हप्ताको समय लिएर भैरहवाबाट भ्रमण सुरु गर्दा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्दै पोखरा सहित चितवनमा पुगेर भ्रमण सम्पन्न गर्न सकिन्छ ।
यात्राको प्याकेज समय र बजेट दुवै अनुसार पनि तय गर्न सकिनेछ । चाहे चितवन होस्, चाहे पोखरा, चाहे लुम्बिनी नै किन न होस्, हरेक ठाउँमा चार देखि ७ दिनसम्मको प्याकेज बनाएर प्रस्तावित स्वर्ण त्रिकोण भ्रमण गर्न सकिने पर्यटन व्यवसायीहरूले बताएका छन् । यस अवधारणाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्न सक्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।