२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । नेपाल प्रहरीको तथ्यांकअनुसार बैंकिङ कसुरसम्बन्धी घटनाहरु १०५ प्रतिशतले बढेको छ। चालु आवको पाँच महिनामा एक हजार ८ सय ७ वटा बैंकिङ कसुरसम्बन्धी घटना दर्ता भएका छन्। आव २०७७/७८ मा आठ सय ८० वटा मात्र बैकिङ कसुरका घटना भएका थिए।

प्रहरीका अनुसार देशभर केही जघन्य प्रकृतिका अपराधहरुमा कमी आएको छ। कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, करणी जस्ता अपराधहरुमा कमी आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

यस्तै, चोरी, बैकिङ कसुर, लागुऔषध, ठगी जस्ता घटना भने वृद्धि भएका छन्। गएको पाँच महिनाको अवधिमा सबैभन्दा धेरै बैंकिङ कसुरका घटना बढेको प्रवक्ता कुँवरले जानकारी दिए।

‘पाँच महिना अगाडिसम्म लकडाउनको धेरै प्रभाव थियो। मानिसहरु घरमा नै थिए। जसले गर्दा चोरी र अन्य अपराधिक गतिविधि भएको थिएन। अहिले मानिस घरमा नभएकाले पनि चोरीको घटना बढेका छन्,’ एसएसपी कुँवरले भने।

यस्तै, संस्थागत र सहकारी ठगीका घटनाहरु पनि बढेको प्रहरीले जनाएको छ। ‘संस्थागत र सहकारी ठगी बढेको छ। कानुनी दायरमा ल्याउन प्रहरी सक्रिय भएर पनि होला, यस्ता घटना बाहिर आउन थालेका छन्,’ एसएसपी कुँवरले भने।

चोरीको घटना पनि ३५ प्रतिशत माथि बृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा १ हजार २ सय ३७ वटा चोरीका घटना भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा ९ सय १६ वटा मात्र घटना भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर