काठमाडौँ । सरकारले पुस महिनासम्म १८ वर्षभन्दा माथिका ६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने जनाएको छ । पर्याप्त मात्रामा खोप भित्रिएकाले यो महिनाको अन्तिमसम्ममा ६६ प्रतिशतलाई खोप उपलब्ध गराउने तयारी सरकारले गरेको हो ।
चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । अहिलेसम्म सबैभन्दा बढी बागमती प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन । दुवै मात्रा खोप लगाउने ६१ प्रतिशत छन् । प्रदेश दुईमा दुई मात्रा खोप लगाउनेको संख्या सबैभन्दा कम २४ प्रतिशत छ ।
कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३५ प्रतिशतले दुई मात्रा खोप लगाएका छन । प्रदेश एकमा ४४ प्रतिशत, गण्डकीमा ६४ प्रतिशत र लुम्बिनीमा ४० प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन । नेपालमा हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइससकिएको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९४ लाख ५० हजार रहेको छ ।
नेपालमा हालसम्म तीन करोड ३२ लाख ९० हजार ३ सय ३० मात्रा खोप आइसकेको छ । नेपालले गत माघदेखि खोप लगाउन थालेको हो । अहिले नेपालमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल साइनोफार्म, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना प्रयोग गरिएको छ ।
१८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ । एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको हो । विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको छ ।