
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शुक्रबारदेखि खारेज भएको छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका लागि गठित प्राधिकरण समयावधि सकिएर खारेज भएको हो ।
निर्धारित समयमै काम सम्पन्न गर्न नसकेपछि अतिरिक्त समय थपेर प्राधिकरणको आयु लम्ब्याइएको थियो । यद्यपि अझै पनि प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी कतिपय काम सम्पन्न गर्न सकेको थिएन । तर अब प्राधिकरण नै खारेज भएपछि बाँकी रहेका अधुरा काम विभिन्न निकायलाई जिम्मा दिइएको छ ।
२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र सोही वैशाख २९ गतेको शक्तिशाली प्रकम्पका कारण क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि सोही सालको पुस १० गते प्राधिकरण गठन गरिएको थियो ।
भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३ को उपदफा ३ बमोजिम नेपाल सरकारले प्राधिकरणको समयावधि २०७७ माघ १५ गते एक पटकका लागि थप गरेको थियो । थपिएको समय २०७८ पुस ९ गतेसम्म कायम रहेकाले हिजो मध्यरातबाट समयावधि सकिएको हो ।
प्राधिकरणले भूकम्पले क्षति पुर्याएका विभिन्न क्षेत्रलाई विद्यालय भवन, निजी आवास, सरकारी भवन, ऐतिहासिक तथा पुरातात्विक सम्पदालगायतमा वर्गीकरण गरेर पुनर्निर्माण तथा पुनस्र्थापनाको काम गरेको थियो ।
अहिलेसम्म विद्यालय भवनतर्फ ६ हजार ६ सय ४७ भवन पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको थियो । जबकि ७ हजार ५ सय ५३ विद्यालय भवनको पुनर्निर्माणको लक्ष्य राखिएको थियो । अब ९ सय ३६ विद्यालय भवन पुनर्निर्माणको काम बाँकी रहेको छ ।
पुनर्निर्माणको प्राथामिकतामा रहेका निजी आवासतर्फ भने कुल ८ लाख ६६ हजार २ सय लाभग्राहीमध्ये ८ लाख २९ हजार ६ सय ६७ जनाले अनुदान सम्झौता गरेको प्राधिकरणको तथ्यांकले जनाउँछ ।
तथ्यांक अनुसार ८ लाख २८ हजार ६ सय ६३ जनाले पहिलो किस्ता लिइसकेका र ७ लाख ५० हजार ४ सय ५९ जनाले दोस्रो किस्ता लिएको देखिन्छ । यसैगरी तेस्रो किस्ता अनुदान रकम लिनेमा ७ लाख ३ हजार ३ लाभग्राही रहेका छन् ।
यसैगरी स्वास्थ्य संस्थानका भवन पुनर्निर्माणतर्फ ७ सय ५१ वटाको मात्रै काम सम्पन्न भएको जनाइएको छ, जबकि १ हजार १ सय ९७ भवन पुनर्निर्माणको लक्ष्य थियो । यसैगरी ४ सय १५ वटा सरकारी भवनको पुनर्निर्माण गर्नुपर्नेमा ३ सय ८८ वटाको काम सम्पन्न भएको जनाइएको छ ।
यसैगरी साँस्कृतिक महत्वका सम्पदाको ९२० वटा भवन पुनर्निर्माणको लक्ष्य राखिएकोमा ६०६ वटाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी २८८ पुनर्निर्माण कार्य जारी रहेको जनाइएको छ ।
सुरक्षा निकायका भवनतर्फ पनि २१६ को लक्ष्य रहेकोमा प्राधिकरणमार्फत २१६ को मात्रै पुनर्निर्माण सम्पन्न भएको जनाइएको छ ।
शुक्रबार प्राधिकरणले पुनर्निर्माणको काममा ९० प्रतिशतभन्दा बढी लक्ष्य हासिल गरेको जनाएको छ । थपिएको सहित ६ वर्षे कार्यकालमा विभिन्न संकट एवं अवरोधका कारण लक्ष्य हासिल हुन नसके पनि प्रगति सन्तोषजनक नै रहेको बताइएको छ ।
अब बाँकी रहेका पुनर्निर्माण सम्बन्धी कामहरु सम्बन्धित मन्त्रालयमार्फत तोकिएका निकायले पूरा गर्ने जनाइएको छ । सबै काम पूरा हुन थप ८० अर्ब रूपैयाँ खर्च हुने आकलन गरिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा प्राधिकरणमार्फत पुनर्निर्माण कार्यमा ३ खर्ब ७१ अर्ब रूपैयाँ खर्च भएको थियो ।