२०८१ मंसिर २३ आईतवार

काठमाडौं । गत मंसिर महिनामा फोन आयातको संख्या बढेपनि आयात मूल्य भने घटेको छ। मंसिरमा दुई अर्ब ६१ करोड ३८ लाख ५४ हजार रुपैयाँ बराबरको चार लाख ५८ हजार ६५७ थान मोबाइल आयात भएको भन्सार विभागले जनाएको छ।

मंसिरमा सरकारले मोबाइलबाट आर्जन गर्ने भन्सार पनि घटेको छ। मंसिरमा ४१ करोड ३७ लाख ७० हजार रुपैयाँ सरकारले भन्सार संकलन गरेको छ।

कात्तिकमा तीन अर्ब १८ लाख १४ लाख ३५ हजार रुपैयाँ बराबरको तीन लाख ९२ हजार ६०४ थान मोबाइल आयात भएको थियो। कात्तिकमा सरकारले ५० करोड ३६ लाख ३३ हजार रुपैयाँ भंसार संकलन गरेको थियो।

अहिलेको मोबाइल बजारमा दसैंतिहार पछिको असर कायम रहेको मोबाइल इम्पोर्टर्स एसोसिएसन एवं आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले जानकारी दिए।

‘यो हरेक वर्ष आइरहने असर हो। दसैं र तिहारमा बढी मात्रामा फोन बिक्री हुन्छ। दसैंतिहार पछिको दुई साढे दुई महिना अलि स्लोडाउन हुन्छ। अहिले मोबाइल व्यापार सुस्त छ। केही समयमै मोबाइल बजार पुरानै लयमा फर्किन्छ,’ मल्होत्राले भने।

त्यसैगरी, अवैध मोबाइलको बिक्री बजारमा बढ्दै गएकाले पनि त्यसको प्रत्यक्ष असर वैध मोबाइलको व्यापारमा परिरहेको उनले बताए। नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा नल्याउँदा अवैध मोबाइलले बजार हिस्सा ओगट्दै लगेको व्यवसायीहरुको आरोप छ।

मल्होत्राले अब अवैध मोबाइल नियन्त्रण गर्न एमडीएमएस एक मात्रै विकल्प भएको जिकिर गरे। ‘हामीले मेहेनत गरेर व्यवसाय गरिरहेका छौं। दुई चार पैसा फाइदा होला भनेर व्यवसाय गरेको हो। तर, फोनको अवैध आयातले गर्दा हामीले ल्याउने फोनभन्दा अवैध फोन सस्तो मूल्यमा पाइने भयो। जसका कारण वैध तरिकाले भित्रिएका फोनको बिक्री घट्दै गएको छ,’ मल्होत्राले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय