२०८१ मंसिर २३ आईतवार

काठमाडौं । राजस्व अनुसन्धान विभागले नेपालस्थित कोका-कोला उत्पादक बोटलर्स नेपाल बालाजुविरुद्ध मुद्दा दायर गर्ने भएको छ । राजस्व छली गरेको अभियोगमा बोटलर्स नेपालविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको हो ।

अनुसन्धानका क्रममा बोटलर्स नेपाल बालाजुले ठूलो रकमको कर तथा राजस्व छली गरेको भेटिएको थियो । विभागले कम्पनीका सञ्चालकलाई स्पष्टीकरणका लागि सातदिने सार्वजनिक सूचना जारी गरेको छ ।

यसअघि पटक–पटक स्पष्टीकरणका लागि कम्पनीका सञ्चालकहरूलाई विभागमा उपस्थित हुन निर्देशन दिइएकोमा सम्पर्कमा नआएपछि सूचना जारी गरेर मुद्दा दायरका लागि प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । कम्पनीका सञ्चालक सम्पर्कमा आएमा उनीहरूको बयानसमेत संलग्न गरी मुद्दा दायर गर्ने विभागको तयारी छ ।

विभागले एक सूचना जारी गर्दैै बोटलर्स नेपाल प्रालि बालाजुकी प्रमुख शुक्ला वासानसहित १५ जनालाई सात दिनभित्र उपस्थित हुन भनेको छ । त्यस्तै कम्पनीका निर्देशकहरू मेल्भिन तान चुन पिन, मोहम्मद अमिन गोनिम, गौरव खोसला, सन्दीप बाजोरिया, देवव्रत मुखर्जी, सुमन्ता दत्त, जवाहर सोलाई कुपुस्वामी, संकेत रे, डिनाइज म्यारी–लुइस लाउवेन्स, केइथ इयान स्ट्यासे, चोलिया डी सिल्भालाई पनि विभागले बोलाएको छ ।

त्यसैगरी प्रबन्ध निर्देशकहरू सलमान ल्याटिफ रावन र पुनीत चन्द्रपाल भस्र्र्ने तथा वित्तीय प्रबन्धक सुमित गोयललाई पनि उपस्थित हुन निर्देशन दिएको छ । सात दिनभित्र सञ्चालकहरू सम्पर्कमा नआएमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिने विभागका महानिर्देशक पौडेलले बताउनुभएको छ ।

दुई अर्बभन्दा बढी राजस्वमा हिनामिना गरेको विभागको भनाइ छ । बोटलर्स नेपालका विदेशी लगानीकर्ताको सेयर अन्य विदेशी लगानीकर्तामा किनबेच हुँदा नेपाललाई पुँजीगत लाभकर नतिरेको भेटिएको हो ।

उक्त कारोबारको जानकारी नेपाललाई नभएकाले विगत एक वर्षदेखि अनुसन्धान थालिएको विभागले जनाएको छ । विभागका अनुसार ७५ प्रतिशत सेयर स्वामित्व सात वर्षपहिले नै परिवर्तन भएको देखिएको तर उक्त कम्पनीले कुुनै निकायलाई पनि जानकारी गराएको छैन । स्वामित्व परिवर्तन हुँदा आयकर ऐनअनुसार २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने भए पनि सूचना लुकाएर कम्पनीले राजस्व छली गरेको विभागको दाबी छ ।

विभागका अनुसार सन् २०१४ मा अफ्रिकाको अफ्रिका बोटलिङ कम्पनी (साप्को) ले ७५ प्रतिशत सेयर स्वामित्व द कोका-कोला बोटलिङ इन्भेस्टमेन्ट ग्रुपलाई बेचेको भेटिएको छ । सोहीक्रममा कम्पनीले करिब दुई अर्ब रुपैयाँ कर छली गरेको बताइएको छ । सात वर्षको जरिवाना जोडेर कर असुलीका लागि मुद्दा दायर गरिने विभागले जनाएको छ ।

विभागले बोटलर्स नेपालमा २०७७ मंसिर २३ गते छापा मारेर सम्पूर्ण महत्वपूर्ण दस्तावेज, कम्प्युटर हार्डडिस्क, ल्यापटप कब्जामा लिएको थियो । त्यसपछि कम्पनीका वर्तमान प्रबन्ध सञ्चालक प्रदीप पाण्डे, सञ्चालक समितिका तीनजना नेपाली सदस्य सुरेन्द्र सिलवाल, नर्मदेश्वरनारायण सिंह र त्रिलोचन उप्रेती, वित्त निर्देशक अशोक मण्डल, कम्पनी सचिव प्रतिमा बर्मासहित अन्य पदाधिकारीसँग पटक-पटक बयान लिएको थियो ।

तत्कालीन अधिराजकुमारी हेलन शाहको नाममा २०२९ सालमा दर्ता भएको बोटलर्स नेपाल प्रालिमा भारतीय लगानीकर्ता नकुल धर्मचन्द कमानीले २०३५ सालमा पाँच करोड भारु लगानी गरी २०३६ सालदेखि नेपालमा कोका–कोलाको उत्पादन सुरु गरेको पाइएको छ । कमानीले सन् १९८३ मा दरबारलाई स्वामित्व बेचेर फर्किएपछि बोटलर्स नेपालको स्वामित्व पटक–पटक खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय