२०८१ माघ २९ मंगलवार

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणालीमा सुधार गरिने भएको छ। अनलाइन प्रणालीमा सुधार गरेर व्यवहारिक बनाउन लागिएको यातायात व्यवस्था विभाग महानिर्देशक नमराज घिमिरेको भनाइ छ।

उनका अनुसार सेवाग्राहीले आफ्नो मात्रै भर्न पाउने र कुन कार्यालयमा कतिले आवेदन दिएका छन् भनेर हेर्न पाउने गरी सिस्टम अपग्रेड गर्न लागिएको हो। अहिले उपत्यकाका यातायात कार्यालयहरुमा अनलाइन आवेदन दिए एक वर्षपछि मात्रै ट्रायलको पालो आउँछ। दुई पांग्रे सवारी साधनको हकमा दुई वर्षसम्म कुर्नुपर्ने अवस्था छ।

‘कुनै कार्यालयमा धेरै लोड र कुनैमा कम भएकाले पालो कहिले आउँछ भनेर हेर्न मिल्ने गरी सिस्टम विकास गर्न लागिएको छ,’ उनले भने, ‘यसले धेरै सहज हुने अपेक्षा गरिएको छ।’

उनका अनुसार सिस्टम सुधारपछि सेवाग्राहीले युजर नेम र पासवर्ड सहितको अकाउन्ट बनाएपछि मात्रै अनलाइन आवेदनको फारम भर्न पाउनेछन्। अनलाइन आवेदन भरेको पनि पैसा तिर्नुपरेको गुनासो बढेपछि विभागका अधिकारीहरुले सिस्टम परिवर्तन गर्न लागेका हुन्।

भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले अनलाइन आवेदनको सिस्टम बनाएको हो। कम्पनीका प्रतिनिधिलाई बोलाएर दुई सातामा सिस्टम सुधार गर्न निर्देशन दिइएको घिमिरेले बताए। अहिले ६ लाख बढी सेवाग्राहीले अनलाइन आवेदन दिएर ट्रायल परीक्षा कुरिरहेका छन्।

सीमित ट्रायल सेन्टरहरु रहेका कारण लाखौं सेवाग्राहीले ट्रायल दिन पाएका छैनन्। ट्रायल सेन्टरहरुमा सिन्डिकेट रहेका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय