२०८१ मंसिर २४ सोमबार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ३५ औं वार्षिक साधारणसभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा सम्पन्न गर्‍यो । महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारणसभा भर्चुअल रुपमा सम्पन्न गरियो ।

साधारणसभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो । साधारणसभाको अध्यक्षता गर्दै बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिनुभयो, जसमध्ये १२.६११ प्रतिशत बोनस सेयर र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

यसवर्ष बैंकले ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्तापुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १६८ अर्बबाट वृद्धि भइ १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुललगानी अघिल्लो वर्षको रु. १४० अर्बबाट वृद्धि भइ रु.१६२ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय