
नेपाल राष्ट्र ब्यांकले देशभर दुई अर्ब ७५ करोड ८४ लाख २४ हजार १६४ थान नोट चलनचल्तीमा रहेको जनाएको छ। नोट निष्कासन तथा व्यवस्थापनको जिम्मा पाएको राष्ट्र ब्यांकले गत असारसम्म रु.७९ अर्ब ८१ करोड मूल्य बराबरका नयाँ नोट स्टक मौज्दात रहेको जानकारी सार्वजनिक गरेको छ।
केन्द्रीय ब्यांकले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत असारसम्म रु.५ देखि १ हजार दरसम्मका विभिन्न नोटको परिमाणमा रहेको मौज्दात जानकारी दिएको हो। यसमध्ये सबैभन्दा धेरै रु.१ हजार दरको रु.५४ अर्ब १० करोड मूल्य बराबरका नोट मौज्दात छन्।
आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा नयाँ नोटको मौज्दात करीब ६ गुणाले बढेको छ। आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा राष्ट्र ब्यांकमा रु. १३ अर्ब ९ करोड मूल्य बराबरको नोट मात्रै मौज्दात थियो।
नोट छपाइ सम्बन्धी गुरुयोजना अनुसार, नयाँ नोट धमाधम छाप्दै गएपछि केन्द्रीय ब्यांकमा नोट मौज्दात बढेको हो। गत आर्थिक वर्ष २०७७/७८ मा राष्ट्र ब्यांकले रु.५ को दरका ८ करोड थान, रु.१० को दरका ८ करोड थान, रु.२० को दरका १७ करोड थान, रु.५० को दरका ८ करोड थान, रु.१०० को दरका १२ करोड थान र रु.१००० को दरका १३ करोड थान नोट छपाएको थियो।
केन्द्रीय ब्यांकका अनुसार, गत असारसम्म बजारमा विभिन्न दरका गरी रु.६ खर्ब ८३ अर्ब ५० करोड मूल्य बराबरका नोट चलनचल्तीमा छन्। यसमध्ये सबैभन्दा धेरै रु.१००० को दरका ४८ करोड ८६ लाख थान नोट प्रचलनमा छन्।
चलनचल्तीमा न्यून भइसके पनि बजारमा रु.१ को दरका १६ करोड १० लाख र रु.२ को दरका ९ करोड २६ लाख थान नोट चलनचल्तीमा रहेको केन्द्रीय ब्यांकको अभिलेख छ।
केन्द्रीय ब्यांकले पुराना र झुत्रा नोटलाई प्रणालीबाट हटाउने व्यवस्था अनुसार, गत आर्थिक वर्षमा रु.१२ अर्ब ५४ करोड मूल्य बराबरका चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट जलाएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ।