काठमाडौं । विश्व स्वास्थ्य संगठनले ‘नयाँ भेरियन्ट अफ कन्सर्न’ ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।
जारी विज्ञप्तीमा दक्षिण–पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।
अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग गर्न आग्रह गरिएको छ ।