
काठमाडौं । कोभिड-१९ ले प्रभावित बनेको उद्योग व्यवसाय क्षेत्रमा सुधार आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। राष्ट्र बैंकले ५२ जिल्लाका ६७४ उद्योग व्यवसायलाई नमुनाका रुपमा लिएर गरेको अध्ययनबाट यस्तो देखिएको हो।
अध्ययनअनुसार कोभिडबाट २०७७ असारमा प्रभावित देखिएकामध्ये अहिले ८७.२ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा संचालनमा आएका छन्। कोभिडअघिको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन तथा कारोबार स्थिती पछिल्लो सर्वेक्षण पूरा हुँदा ७४.७ पुगेको छ। यस्तै, रोजगारीको अवस्थामा समेत सुधार आएर यसअघिकोझ ७७.५ प्रतिशतबाट ९७.२ प्रतिशत पुगेको देखिएको छ।
कोभिड-१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्यांक संकलन गरेको थियो। उक्त सर्वेक्षणले कोभिडका कारण लगाइएको देशव्यापी लकडाउनबाट ६१ प्रतिशत उद्योग व्यवसाय संचालन हुन नसकेको देखिएको थियो। साथै, ४.१ प्रतिशत व्यवसायहरु मात्र पूर्णरुपमा संचालनमा रहेको देखाएको थियो।
सोही अध्ययनको तेस्रो रिभ्युबाट अहिले व्यवसायिक कारोबारमा सुधार भएको देखिएको केन्द्रिय बैंकले जनाएको छ। यसअघि २०७७ को सर्वेक्षणमा समेटिएका उद्योगी व्यवसायीहरुबाट पुनः अद्यावधिक सूचना तथा तथ्यांकहरु लिएर राष्ट्र बैंकले २०७७ मंसिर र २०७८ वैशाखमा गरी दुईपटक व्यवसायिक अवस्थाको रिभ्यु गरेको थियो।
यसका बाबजुद कोभिड-१९ अघि अर्थात् २०७६ फागुनको अवस्थामा भने उद्योग व्यवसाय अझैपनि पुग्न सकेको छैन। तथापि, राष्ट्र बैंकले २०७७ असार र त्यसपछि गरेका अन्य सर्वेक्षणहरुको तुलनामा उद्योग व्यवसायहरुको उत्पादन एवम् कारोबार र रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको केन्द्रिय बैंकको निष्कर्ष छ।