काठमाडौं। आर्थिक वर्ष २०७७/७८ मा सरकारको राजश्व संकलन ८२.८१ प्रतिशत भएको छ ।
कुल राजश्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र अन्य कर राजश्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ गरी कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन भएको हो।
मंगलबार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको आव २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको ८१.१५ प्रतिशत रकम अर्थात ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ ।
यस्तै आ.व. २०७७/७८ को कुल खर्चमा सरकारको श्रोतबाट ८२.३२ प्रतिशत तथा कुल खर्चको १७.६८ प्रतिशत बैदेशिक स्रोतबाट व्यहोरिएको छ । उक्त बैदेशिक स्रोतमा अनुदानको हिस्सा ३.४ प्रतिशत र ऋणको हिस्सा १४.६४ प्रतिशत रहेको छ ।
आ.व.२०७७/७८ मा संघीय सरकारको संचित कोषमा १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख रुपैयाँ प्राप्ति र खर्च ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख रुपैयाँ भुक्तानी भई चालु आ.व. कोष १ खर्ब ७ अर्ब १६ करोड ५४ लाख रुपैयाँले धनात्मक रहेको छ ।