२०८१ पुष २९ सोमबार

काठमाडौं । तिहार नजिकिँदै जादा यसमा प्रयोग हुने सयपत्री, मखमली एवम् गोदावरी फूलको माग बढ्दो छ ।

तिहार नजिकिएसंगै भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुन्डूका किसानलाई फूलको माला बेच्न भ्याईनभ्याई छ ।

उनीहरुले यस बर्ष तिहार नजिकै रहेकाले सबै फूलको प्रयोग हुने र फूल नाश नहुने आशा सहित खुसी भएका छन् ।

चिसो बिहानीमा निद्रा छोडेर हातमा बाल्टी बोकी मखमली फूलबारी तिर लाग्छिन् उर्मिला बस्नेत ।

तिहारको मौसममा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुन्डूकी उर्मिलाको यो दैनिकी हो ।

उनले बिहान टिपेका फूललाई दिनभर माला बनाउदै बेच्ने गर्छिन । तिहारको यस सिजनमा उनले करिब ६० हजारको माला बेच्ने योजना रहेको बताइन।

तिहार नजिकिएसँगै गुन्डूका फूल किसानहरुको चटारो सुरु भएको छ । तिहार आउन केही दिन मात्र बाँकी रहँदा मखमली फूल टिप्ने र माला गास्ने काममा उनीहरु व्यस्त देखिन्छन् ।

फूल फूलाएपछि बजारको कठिनाइ छैन । गाडी लिएरै गुन्डू पुग्छन् व्यापारीहरु । तिहारको बेला फूलको माग बढी हुने हुने भएकाले परिवारका सबैजना यही पेशामा जोडिन्छन् ।

त्यतिले नभ्याएदेखि खेताला नै चाहिन्छ फूल टिप्न र माला गाँस्न । गुन्डू क्षेत्रका खेतबारी, करेसाबारीमा मखमली फूल ढकमक्क फूलेका छन् ।

त्यहाँको वातावरण नै रंगीन देखिन्छ । यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला छन् ।

पछिल्ला वर्षमा सयपत्री फूलमा नेपाल आत्मनिर्भर हुँदै गएको छ । आफ्नो खेतमा चौगुणा आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

मखमली फूल तिहारमा अत्यधिक खपत हुने गर्दछ । कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय विस्तारै तंग्रिन थालेको छ ।

भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए नेपालमै अहिलेको भन्दा दोब्बर आम्दानी हुने अनुमान गरिएको छ ।

गुन्डू मै सयपत्री फूलको खेति गर्दै आएका नबिन केसीले यस बर्षको तिहारमा करिब ८० हजारको फूल बेच्ने बताए।

स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैँ यस वर्ष पनि तिहारका लागि भारतबाट ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ ।

फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपर्ने भएको हो ।नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्यांक छ ।

उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने किसानहरु बताउँछन् । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो ।

नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० किसानले यसको खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर