
काठमाडौं । सुन आयात थामिनसक्नु गरी भएपछि नेपाल राष्ट्र बैंकले यस बारेमा अध्ययन थालेको छ। राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सुनचाँदी व्यवसायीहरुसँग कसले कसरी सुन लगिरहेको छ भनेर अनुसन्धान थालेको छ।
राष्ट्र बैंकले सात दिनको समय दिएर सुनचाँदीका संगठनहरुमार्फत सुनचाँदी लैजाने व्यवसायीको विवरण माग गरेको छ। व्यवसायीले कोभिडलाई देखाएर तथ्यांक दिन आनाकानी गरिरहेका छन्।
‘सात दिनको समय बितिसकेको छ। उनीहरुले कोभिडलाई देखाएर विवरण पठाउन ढिला गरिरहेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो।
व्यवसायीहरुले अहिले दैनिक २० किलो सुन खरिद गर्छन्। उनीहरुले गत शुक्रबारसम्म १४ सय किलो सुन उठाइसकेका छन्। नेपाल आएको सुन भारत जान थालेको शंका गर्न थालिएको छ। बिहेको सिजन नभए पनि सुन भित्रिने परिमाण उच्च हुँदा आयात बढेर शोधनान्तर घाटा चुलिएको छ। यही भएर सुनचाँदीका बारेमा राष्ट्र बैंक गम्भीर देखिएको हो।
राष्ट्र बैंकले सुन आयातका बारेमा अर्थ मन्त्रालयसँग कुराकानी गरेको छ। राष्ट्र बैंकले सुन आयातमा कडाइ गर्नु पर्ने सुझाव सरकारलाई दिएको छ।