काठमाडौं– कोरोनाका कारण लामो समयदेखि मलेसिया जान नपाएका श्रमिकहरूले अब जान पाउने भएका छन् । कोरोनाका कारण रोकिएको मलेसिया रोजगार खुला भएसँगै नेपाली श्रमिक मलेसिया जान पाउने भएका हुन् ।
पछिल्लो समय अन्य रोजगार मुलुकहरू खुला भएको अवस्थामा मलेसिले प्रतिबन्ध जारी राखेको थियो । तर, सो प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लैजान मलेसियाले तयार भएको नेपालमा रहेको मलेसियन दूताबासले जनाएको छ ।
बिहीबार दूताबासले सूचना जारी गर्दै यस्तो बताएको हो । मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही संख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने बताइएको छ ।
मलेसिया जाने श्रमिकहरूले विभिन्न स्वास्थ्य मापदण्ड भने अनिवार्य रूपमा पूरा गर्नु पर्ने बताइएको छ । दूताबासले जारी गरेको सूचनाअनुसार श्रमिकले मलेसिया जानुभन्दा पहिले नै त्यहाँको अध्यागमनबाट अनुमति लिनु पर्ने छ ।
त्यस्तै मलेसिया जाने श्रमिकसँग मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको हुनुपर्ने छ । यस्तै कोरोनाको परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरिएको सूचनामा उल्लेख गरिएको छ ।
यी मापदण्डहरू पूरा गरेर मलेसिया पुगेपछि पनि त्यहाँको स्वास्थ्यका मापदण्ड पालना गर्दै अनिवार्य क्वारेन्टाइनसमेत बस्नु पर्ने सर्त राखिएको छ ।
भिसालगायत मलेसिया जाने प्रक्रिया बारेमा बुझ्नका काठमाडौंमा रहेको मलेसियन दूताबासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । त्यसका लागि इमेल तथा दूताबासको फोन नम्बरमा सम्पर्क गरेर जानकारी लिन सकिने सूचनामा जनाइएको छ ।