
काठमाडौं । बैंक वित्तीय संस्थाहरुमा नयाँ निक्षेप नथपिएपछि तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विविध मौद्रिक उपकरणहरु जारी गर्दे आएको छ । बुधबार मात्र नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्थालाई १० पटक गरेर १४ अर्ब ४९ करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रदान गरेको छ ।
त्यसैगरी केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाले बुधबार मात्र १ अर्ब ११ करोड रुपैयाँ बरावरको ओभरनाइट रिपो सुविधा उपभोग गरेका छन् ।
बैंकिङ प्रणाली तरलता अभावको समस्या जटील बन्दै गएपछि गत भदौ ३१ गते मात्र २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । उक्त रिपो जारी गरेको एक साता नपुग्दै केन्द्रीय बैंकले बिहीबार एक साता अवधिको ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ ।
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुसंग कर्जा लगानी योग्य रकम करिब २ सय अर्ब बराबरको भएपछि दैनिक तरलता व्यवस्थापनका लागि समस्या देखिएको हो ।
चालु आर्थिक वर्ष सुरु भएपछि मात्र सरकारले करिब ७० अर्ब रुपौयाँ भन्दा धेरै पैसा कर स्वरुप लगेर ढुकुटीमा राखेको हुनाले बैंकिङ प्रणालीमा समस्या जटिल बन्दै गएको हो ।