
काठमाडौं। विदेशमा काम गर्न गएका नेपालीलगायतलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले जारी गर्ने ‘वैदेशिक रोजगार बचतपत्र’ मा एकदमै कम आकर्षण देखिएको छ। राष्ट्र बैंक आफैंले पनि यसलाई प्राथमिकतामा नराख्दा यसप्रति लक्षित वर्ग आकर्षित नभएका हुन्।
राष्ट्र बैंकले २०६६/६७ बाट सरकारलाई ऋण उठाउने एउटा औजारका रूपमा यो बचतपत्रलाई अगाडि सारेको थियो। त्यसयता गत आर्थिक वर्षसम्म हरेक वर्ष बचतपत्र जारी हुँदै आएका छन्। तर त्यसमा सहभागिता भने एकदमै न्यून छ।
अहिलेसम्म जारी भएका ऋणपत्रमा औसत ५ प्रतिशतले मात्र सहभागिता जनाएका छन्। ६ वर्षअघि तुलनात्मक रूपमा निकै राम्रो बिक्री भएको थियो। त्यसको अर्को वर्ष पनि बिक्री भएको थियो। त्यो बेला राष्ट्र बैंकले विभिन्न माध्यमहरुको प्रयोग गरी निकै नै प्रचारप्रसार गर्दा साढे ३३ प्रतिशतसम्म बिक्री भएको थियो। त्यसपछि निरन्तर घटिरहेको छ।
गत वर्ष राष्ट्र बैंकले ५०/५० करोडका दरले दुई पटक ऋणपत्र जारी गर्यो। त्यसमा एक पटक ३.०७ प्रतिशत र अर्कोमा ७.९८ प्रतिशतले आवेदन दिएका थिए। राष्ट्र बैंकले विदेशमा बस्नेलाई लक्षित गरे पनि प्रचारप्रसार भने गोरखापत्र दैनिकमा गर्ने गरेको छ। त्यही भएर धेरैलाई थाहा नभएकै कारणले बिक्री नभएको हो।
जबकी ब्याजका हिसाबले आकर्षक छ। राष्ट्र बैंकले पछिल्लो चार वर्षयता नियमित रूपमा १० प्रतिशत ब्याज निर्धारण गरिहरेको छ। साढे १० प्रतिशतसम्म दिएको ब्याज बीचमा ९ प्रतिशतमा पनि झारेको थियो। तीन वर्षसम्म ९ प्रतिशत ब्याज दिएको थियो। त्यसपछि भने १० प्रतिशत दिँदै आएको छ।
राष्ट्र बैंकले अहिलेसम्म १३ अर्ब ५८ करोड ७९ लाख रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा राखिसकेको छ। तर जम्मा ६७ करोड ९२ लाख रुपैयाँ मात्र बिक्री भएको छ।
अहिले राष्ट्र बैंकले बैंकमार्फत पनि रोजगारमा गएकाहरुलाई आकर्षित गर्न खोजेको छ। रेमिटेन्स रकम बैंकमा जम्मा गरे चल्तीको भन्दा एक प्रतिशत ब्याज बढी दिन व्यवस्था गरिएको छ।