काठमाडौं। नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई सहजीकरण गर्न नेपाल उद्योग परिसंघले उत्पत्तिको प्रमाणपत्र सम्बन्धी समिति गठन गरेको छ। समितिको संयोजक परिसंघका राष्ट्रिय परिषद सदस्य अमित मोर बनेका छन्।
हालै नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्याविधि परिमार्जन गरेको छ। जस अन्तर्गत परिसंघले साफ्टा तथा अन्य मुलुकका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ। उद्योग विभाग अन्तर्गत रहेको उत्पत्तिको प्रमाणपत्र सम्बन्धी प्राविधिक समितिमा परिसंघ हालै सदस्यको रुपमा चयन भएको थियो।
यससँगै परिसंघले भारतमा निकासी हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरेको छ। ‘अब परिसंघ सबै किसिमका उत्पत्तिको प्रमाणपत्र जारी गर्न सक्ने अवस्थामा छ,’ संयोजक मोरले भने।
सरकारले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत परिसंघले तेस्रो मुलुक निकासीलाई आवश्यक उत्पत्तिको प्रमाणपत्र विद्युतीय माध्यमबाट समेत जारी गरिरहेको जानकारी दिँदै उनले निकट भविष्यमा भारत, साफ्टा तथा अन्य द्विपक्षीय व्यापार सम्झौता अन्तर्गतका प्रमाणपत्रहरु समेत विद्युतीय माध्यमबाटै जारी गर्ने बताए।
उत्पत्तिको प्रमाणपत्र समितिको सह–संयोजकमा राहुल अग्रवाल छन्। सदस्यहरुमा राजेशकुमार अग्रवाल, नरेश दास, मनिष खेम्का, राजीव गुप्ता, सन्दिप शारदा, विदुषी राणा तथा सौरभ दुगड रहेका छन्।