
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्तासँग आबद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप-५० लगानीकर्ता कार्यक्रममा सहभागी हुन आवेदन दिने समय पुनः सुचारु गरिएको जनाएको छ ।
कार्यक्रममा अनलाइन आवेदन गत वैशाख ४ गतेदेखि खुला गरिएको थियो । ५० स्टार्टअप-५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिको पहलमा ल्याइएको हो ।
कोरोना महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढीभन्दा बढी नवप्रवर्तनीय उद्यमीको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुचारू गरिएको जनाएको छ ।
यसअघि आवेदन दिइसकेकाले भने पुनः आवेदन दिनुपर्ने छैन । आवेदन सबै क्षेत्र अर्थात् कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवाका लागि दिन सकिने छ ।
आवेदन प्रक्रिया पुनः सुचारु गरी कार्यक्रममा मुलुकभरबाट बढीभन्दा बढी स्टार्टअप उद्यमीको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफ्ना सातवटै प्रदेश चेप्टरलाई आग्रहसमेत गरेको छ ।
लगानीकर्ताको व्यावसायिक अभिरूचिसँग छनोट भएर आउने स्टार्टअपलाई मिलान गराई फलदायी सहकार्यका लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्ने बताइएको छ ।
नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडलको स्थापना/स्तरोन्नति प्रक्रियामा रहेका उद्यम वा व्यवसायका लागि समेत आहृवान गरिएको महासंघले जनाएको छ ।
एक वर्षभन्दा बढी समयअघिदेखि सञ्चालनमा आएका र कम्तीमा पनि एक वर्षको लेखापरीक्षण प्रतिवेदन भएका, कानुनीरूपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिनेछन् ।
आवेदनसाथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान, रजिस्ट्रेसन, प्यान/भ्याट दर्ता, करचुक्ता प्रमाणपत्र, कम्पनी सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवद्र्धक/संस्थापकको बायोडाटालगायत आवश्यक दस्तावेज संलग्न हुनुपर्ने बताइएको छ ।