२०८१ माघ २५ शुक्रबार

काठमाडौं । नेपाल सरकारले देशभित्रै भ्याक्सिन उत्पादन गर्ने निर्णय गरेतापनि हालसम्म कुनै सुरसार गरेको छैन् । सरकारले केहि समयअघि कोभिड १९ महामारी विरुद्ध पार पाउने गरि नेपालमा नै भ्याक्सिन उत्पादन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले साउनको तेस्रो साता बसेको बैठकले भ्याक्सिन नेपालमा नै उत्पादन गर्न तयारी गर्ने निर्णय गरिसकेको छ भने साउन २४ गते आएको सरकारको संयुक्त न्यूनतम साझा कार्यक्रममा समेत खोप प्रयोगशाला स्थापना गर्ने उल्लेख गरेर खोप उत्पादनको प्रक्रृया अगाडि बढाएको हो । कोरोना भाइरस महामारीसँग जुध्नका लागि सरकारले स्वदेशभित्रै खोप उत्पादन गर्ने तयारी गरेको हो ।

यसको लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी इच्छुक उद्योगलाई कोभिड १९ विरुद्धको खोप उत्पादन गर्न आव्हान गरेर प्रकृया समेत अगाडि बढाईसकेको छ । सरकारले आफ्नो रणनीतिक योजनाअनुसार खोप उत्पादन गर्ने योजना र नीति लिएको थियो भने त्यसैको आधारमा न्यूनतम साझा कार्यक्रममा समेत समावेशगरिएको थियो ।

जनस्वास्थ्य विज्ञ, महामारी विज्ञ, सरकारी अधिकारीहरु र सरोकारबालाहरुले समेत नेपालमा खोप उत्पादन गर्न सकिने संभावना जनाईसकेका छन् ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा खोप उत्पादन संभव भएकोले संभाव्यता अध्ययन थालिएको बताईसकेका छन् । उनले भने विश्वमा उत्पादन भइरहेको खोप नेपालमा पनि उत्पादन गर्न संभव हुन्छ ।

त्यसैगरि स्वास्थ्य जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पनि नेपालमा मानिसमा लगाउने खोप उत्पादन गर्ने प्रयोगशाला आवश्यक भएर नै सरकारले न्यूनतम साझा कार्यक्रममा खोप प्रयोगशाला स्थापना गर्ने कुरा समेटिएको बताएका छन् ।

त्यसैगरि नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले पनि नेपालमा खोप उत्पादन गर्न सकिने बताईसकेका छन् । उनले कच्चापदार्थ र प्राविधिकहरु बाहिरबाट ल्याउन सकेको खण्डमा स्वदेशमा छोटो अवधिमा नै खोप उत्पादन गर्न सकिने बताएका हुन् ।

सरकारी अधिकारीहरुका साथै सरकारको न्यूनतम साझा कार्यक्रममा खोप उत्पादनलाई प्राथमिकतामा राखिएपनि सरकारले हालसम्म त्यस बारेमा कुनै पहल गर्न सकेको छैन् ।

सरकारले खोप उत्पादनका लागि इच्छुक कम्पनी वा संस्थाहरुलाई समेत सहजीकरण गर्न नसकेको र खोप उत्पादनलाई जोड दिएको छैन् ।
स्वदेशभित्रै खोप उत्पादन गरेको खण्डमा विदेशबाट पटक पटक खोप आयात गर्न नपर्ने र विदेशी दातृ निकायहरुमा भर पर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्नेछ । जसले देशको ढुकुटी खोप किन्नका लागि रित्तिने क्रम रोकिनेछ ।

सरकारले खोप उत्पादनलाई प्राथमिकतामा राखेसँगै विदेशी खोप उत्पादक संस्थाहरुले नेपालभित्रै खोप उत्पादन गर्न सहयोग गरिदिने भनेपनि सरकारी तवरबाट त्यसमा इच्छुक देखिएका छैनन् । यस्तो बेला भनेको अवसरलाई चुनौतीमा बदल्ने बेला हो ।

सरकारी अधिकारीहरुले खोप उत्पादनका लागि पहल गर्ने र प्रकृयालाई अगाडि बढाईदिने आश्वासन दिएपनि सरकारीस्तरमा चासो र जिम्मेवारी नलिँदा सो प्रकृया नै अगाडि बढ्न सकेको छैन् । यदि सरकारी स्तरमा राज्यले र यो सरकारले चाहेको खण्डमा ६ महिना भित्रै खोप उत्पादन गराई कोरोनाको खोपमा आत्मनिर्भर हुन सकिने विज्ञहरुले बताएका छन् ।

अचानक राज्यमन्त्री नियुक्त भएका व्यापारीक पृष्ठभूमीका उमेश श्रेष्ठले खोप स्वदेशमा नै उत्पादन गर्नुको साटो महंगो मूल्यमा खरिद गर्नेमा नै ध्यान केन्द्रित गरिरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

‘मन्त्रीलाई खोप खरिदका लागि ल्याईएको हो। त्यसैले खोप उत्पादनमा उहाँको ध्यान छैन् । खोप खरिद गर्दा कमशिन आउँछ । तर स्वदेशमा नै उत्पादन गर्दा कमिशन आउँदैन् ।’ स्रोतले दाबी गरेको छ ।

हाल अमेरिकी डलरमा प्रति डोज खोप किन्दै आएकोमा करोडौं रुपैयाँको चलखेल हुने गरेको बताईएको छ । जसले गर्दा यो सरकारले खोप उत्पादनलाई प्राथमिकतामा राख्न सकेको छैन् । यसले कतै सस्तो लोकप्रियता खोज्नका लागि मात्र सरकारले खोप उत्पादनको विषयलाई समेटेको त होईन भन्ने प्रश्न आम जनमानसमा उब्जिएको छ ।

सरकारले नै खोप उत्पादन गर्न चाहेको अवस्थामा निजी क्षेत्रले समेत सहयोग गर्न तयार रहेको छ । जसमा विदेशबाट प्रविधि भित्र्याउन सहकार्य गर्नुका साथै त्यसमा आवश्यक समन्वय गर्न समेत निजी क्षेत्र तयार छ । जसले गर्दा सरकारले न्यूनतम लागतमा र सहजरुपमा देशभित्र नै खोप उत्पादन गर्न सक्दछ ।

कोभिड १९ को विभिन्न भेरिएन्टहरु देखिने क्रम जारी रहेको अवस्थामा अब वार्षिकरुपमा नै खोप लगाउनुपर्ने बाध्यता हुने विज्ञहरुले बताउँदै आएका छन् भने विकसित देशहरुले त्यसको लागि तयारी समेत गरिसकेका छन् जसलाई बुस्टर डोज भनिन्छ ।

त्यसैले नेपालले पनि स्वदेशभित्रै खोप उत्पादन गरेर आफ्ना जनतालाई लगाएर बचेको खोप छिमेकी देश भारतका साथसाथै बंगलादेश, पाकिस्तान जस्ता ठूलो जनसंख्या भएका देशहरुमा निर्यात गर्न सकिने र यसले देशको विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुयाउने देखिन्छ । त्यसैले सरकारले यसको लागि बेलैमा पहल लिएर स्वदेशमा नै खोप उत्पादन गर्ने कुरालाई महत्वका साथ लिनुपर्दछ ।

सरकार र देशको लागि ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा राष्ट्रिय स्वार्थको साटो व्यक्तिगत स्वार्थमा केन्द्रित भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय