
काठमाडौं । विश्वब्यापी कोराना भाइरसको महामारीको समयमा रेमिट्यान्स बढेको छ । कोभिडको अवस्थामा बिदेशबाट नेपाली श्रमिक घर फर्कन नपाउँदा पनि औपचारिक क्षेत्रबाट सरकारलाई प्राप्त हुने रेमिट्यान्स बढेको हो ।
कोभिडको समयमा खाडी, मलेसिया, कोरिया तथा जापानमा कार्यरत श्रमिकहरुले पठाउने रेमिट्यान्स बढेको हो । आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्म विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले कुल ९ खर्ब ६१ अर्ब ४ करोड बराबरको रेमिट्यान्स पठाएका छन् ।
नेपाल राष्ट्र बैकका अनुसार रेमिट्यान्सको बृद्धिदरमा ९ दशमलव ८ प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक बर्ष २०७७/७८ मा ८ खर्ब ७५ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको थियो । बिश्वब्यापी कोरोनाको महामारीमा खाडी, मलेसिया लगायतका देशहरुमा कार्यरत श्रमिक कामदार काम गुमाउन नपरेको कारण पनि रेमिट्यान्समा बृद्धि भएको हो ।
बिदेशमा रहेका नेपाली कामदारले कोभिड महामारीमा बिदेशबाट उपभोग्य सामग्री नपठाएको र बैकिङ प्रणालीबाट रकम पठाउनेको संख्या बढेको कारणले गर्दा पनि औपचारिक रुपमा आउने रेमिट्यान्स बढेको हो ।
कोभिडको समयमा हुण्डीको माध्यमबाट रकम पठाउनेहरु सकृय नभएको कारणले गर्दा पनि रेमिट्यान्स बढेको बिश्लेषकहरुको अनु्मान छ । नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको हिस्सा बढेको बढ्दो छ ।
बिदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स बढ्दा बिदेशी बिनिमयको चापमा राहत हुने राष्ट्र बैकले जनाएको छ । पछिल्लो समय बिदेशबाट नेपाल भित्रिने सामानको आयात अत्यधिक बढ्दा ब्यापार घाटा भने चुलिएको छ । बढ्दो आयात धान्नको लागि विदेशबाट प्राप्त हुने रेमिट्यान्सले अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको छ ।