
नेपालको हकमा उहाँको कार्यक्षेत्र र विधा सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । अध्ययन–अनुसन्धान तथा अनुभवको विषयसमेत उस्तै छ । तर, असम्वन्धितलाई जेजस्तो लागे पनि आफ्नो पेशागत क्षेत्रमा भने निकै दख्खलप्राप्त, माहिर, व्यस्त अनि चर्चित मानिनुहुन्छ उहाँ । एक किसिमबाट हेर्ने हो भने उहाँविना चलाचित्र नै अपूर्ण हुन्छ । चलचित्र कला निर्देशक मधु पन्थीको साझा परिचय नै यही हो । र त विगत करिव दुई दशकदेखि यस क्षेत्रमा क्रियाशिल पन्थीले विभिन्न राष्ट्रियस्तरका सम्मान, पुरस्कार तथा अवार्ड पाइसक्नुभएको छ । प्रस्तुत छ– उहाँसँग विविध विषयमा गरिएको भलाकुसारी :
तपाईं यस क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मानिसलाई समयले कहाँ पुर्याउँछ केही थाहा हुँदैन । भनिन्छ नि– देखेको पाइन्न, लेखेको पाइन्छ । एक त मेरो हकमा यही पेशा लेखिएको थियो होला । अर्को यो मेरो सानैदेखिको सोख र रुचिको विषय हो । औपचारिकरुपमा मैले यो विधा–पेशा अँगालेको त्यस्तै दुई दशकजति भयो । जतिबेला म कक्षा ८/९ मा अध्ययन गर्दथें, त्यतिबेलादेखि ममा चलचित्रका बारेमा जिज्ञासा बढ्यो । जब चलचित्र हेर्न हलमा जान्थें, तब मलाई त्यहाँ देखाइने विभिन्न दृष्यले आकर्षित गर्दथ्यो । ती सवै कसरी सम्भव भयो होला ? भन्ने कुरा मेरो दिमागमा खड्किरहन्थ्यो । पछि त्यही पेशा अँगाल्ने सौभाग्य मिल्यो ।
यो नेपालको हकमा धेरैलाई थाहा नभएको पेशा हो, सवैले बुझ्ने भाषामा भनिदिनुस न वास्तवमा चलचित्र कला निर्देशन भनेको के हो ?
हो नेपालको सवालमा यो अलि नौलो नै पेशा हो । चलचित्र कला निर्देशन भनेको कथाले मागेअनुसारको सिन वा वातावरण तयार गर्ने हो । चलचित्रमा कथाले जे खोज्छ निर्देशकको निर्देशनमा कला निर्देशकले त्यही सिन दिनुपर्छ । हामीले कथाले मागेजस्तो अस्थायी सिन तयार गर्छौं तर, आम दर्शकले त्यो याद नै गर्दैनन् । दर्शकले त साच्चिकैको सिन होला भन्ने बुझ्छन् । विभिन्न किसिमका दृष्य निर्माण गर्ने, देखाउने काम नै कला निर्देशकको हो । कथाअनुसार साँच्चिकै जस्तो देखाउने, बनाउने वा तयार गर्ने विधा नै ‘मुभिज् आर्ट डाइरेक्सन’ अर्थात् चलचित्र कला निर्देशन हो । नेपालमा भन्दा विदेशमा कला निर्देशकको महत्व बढ्दो छ ।
सिनको छनोट कसरी हुन्छ ?
सिन छान्ने भनेको कथाले हो । यसमा चलचित्र लेखक र निर्देशकको मुख्य हात हुन्छ । निर्देशकले कथा हेरेर निर्देशन दिएपछि कला निर्देशकले आफ्नो समूहको सहयोगमा सिन निर्माण गर्छ । हामीले जस्तो भन्यो त्यस्तै सिन बनाएर प्रोड्युसर, डिजाइनरलाई जानकारी देखाउँछौं । त्यो प्रोड्युसरबाट डाइरेक्टरकोमा जान्छ । त्यसपछि फाइनल भएर सुटिङ हुन्छ ।
तपाईंजस्तो कला निर्देशक कति छन् नेपालमा ?
पहिले त खासै पाइन्नथ्यो । अहिले केही छन् तर, सवै दक्ष छैनन् । पछिल्लो चरणमा धेरैले यो पेशा–क्षेत्रको ज्ञान लिने थाले । अर्को पक्ष भनेको पहिले चलचित्रका लागि आवश्यक पर्ने सक्कली सिन नै नेपालमा पाइन्थ्यो । अहिले छिटो–छरितो, सस्तोमा सहजै त्यस्ता सिन पाइन्न । त्यो भएर पनि चलचित्र कला निर्देशकको आवश्यकता–माग बढ्यो । अनि अरुले पनि यो पेशामा हात हाले ।
कमाइचाहिँ कत्तिको हुन्छ नि यो क्षेत्रमा ?
यो क्षेत्रमा निमागदार र दक्षले राम्रो आम्दानी गर्छन् । सवैलाई यति नै हुन्छ भन्ने छैन । पुराना र अनुभवीले धेरै पाउँछन्, नयाँ, कम अनुभवीले थोरै पाउँछन् ।
भनेको जिविका राम्रै चल्छ ?
मज्जाले चल्छ । मेरो अरु पेशा नै केही छैन । मदेखि घरपरिवारको खर्च राम्रोसँग चलेर मनग्य बचत पनि भएको छ ।
अहिले त अवस्था त्यस्तो नहोला, कोभिडले यो क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
अहिलेको अवस्था त विल्कुलै खराव छ । कोभिड–१९ को महामारी फैलिएदेखि नेपालका सिनेमा हल बन्द भइहाले । अहिलेसम्म खुलेका छैनन् । कोभिडले चलचित्र उद्योग नै बढी प्रताडित छ ।
तपाईंले अहिलेसम्म कतिवटा चलचित्रमा कला निर्देशन गर्नुभयो ?
मैले अहिलेसम्म त्यस्तै ४५/५० वटा चलचित्रमा कला निर्देशन गरें । सुरुमा सहायक भएर काम गरेको हुँ । पछि अनुभव बटुल्दै जाँदा निर्देशक बनें ।
तपाईंले कला निर्देशन गर्नुभएको सफल–चर्चित चलचित्रको नाम लिनुपर्दा ?
मैले कला निर्देशन सफल–चर्चित चलचित्रहरूमा दादागिरी, डन, खलनायक, दोस्ती, टक्कर दुई मुटुको, म छु नि तिम्रो, मेरो पैसा खोई, जय परशुराम, अ गुड फ्रेण्ड, तिम्रो पर्खाइमा, भगवान् सबैको, आँधीतुफान, अभिमन्यु आदि हुन् ।
यो पेशाको भविश्य कस्तो देख्नुभएको छ ?
देश–विदेशको वातावरण राम्रो भए त भविश्य हरदृष्टिबाट राम्रो छ । यस्तै अवस्था आइरह्यो भने यसै भन्न सकिन्न ।