
काठमाडौं । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीले यस्तो जोड दिएका हुन् । महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारी स्वागतमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको प्रवद्र्धनका लागि दुवै संस्थाबीच साझा एजेण्डा तय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । जसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्र नै निर्माण गरेर जान सकिने उहाँको भनाइ थियो ।
कोरोना महामारीबाट मुलुुकको अर्थतन्त्र कमजोर बनेको समयमा श्रमिक कामदारको तलबको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताललगायतका मुद्दामा भएको सहकार्यबाट ठूलो सफलता प्राप्त भएको भन्दै उहाँले आगामी दिनमा पनि प्राथमिकता तय गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णुुकुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रबीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिँदै उहाँले आगामी दिनमा प्राथमिकताका क्षेत्र पहिचान गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई, कोषाध्यक्ष सुुकुुन्तलाल हिराचन, सीएनआईका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाहलगायतले अर्थतन्त्रको करिब ७० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई अहिले पनि पुरानै मानसिकताबाट हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको बताउनुभएको थियो ।