२०८२ फाल्गुन १ शुक्रबार

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। चालु आवको बजेटको अर्धवार्षिक समीक्षामा यसअघि गरिएको ६ प्रतिशतको अनुमानलाई घटाउँदै यस्तो नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो।

अर्थ मन्त्रालयका अनुसार धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता तथा घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर अपेक्षाकृत कमजोर रहने देखिएको हो। गत आर्थिक वर्षमा भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.६ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ।

पहिलो त्रैमासमा जीडीपी ३ प्रतिशतले वृद्धि
बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आधारभूत मूल्यमा कुल गार्हस्थ्य उत्पादन ३ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि २.९ प्रतिशत रहेको संशोधित अनुमान थियो।

कृषि क्षेत्रमा न्यून वृद्धि
चालु आवको पहिलो त्रैमासमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३६ प्रतिशतले मात्र विस्तार हुने अनुमान गरिएको छ। धानको उत्पादन घट्ने प्रक्षेपण रहे पनि पशुपन्छी, तरकारी तथा फलफूल उत्पादनमा वृद्धि हुने आधारमा कृषि क्षेत्रको समग्र वृद्धि सकारात्मक तर कमजोर रहने अर्थ मन्त्रालयले जनाएको छ।

यद्यपि चालु आवमा मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन बढ्ने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा धान, गहुँ, मकैजस्ता खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत र नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढेको थियो।

उद्योग र सेवा क्षेत्रमा तुलनात्मक सुधार
चालु आवको पहिलो त्रैमासमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.४४ प्रतिशतले विस्तार हुने अनुमान छ। ऊर्जा र निर्माण क्षेत्रका क्रियाकलापमा विस्तार आउँदा त्यसको सकारात्मक प्रभाव समग्र उद्योग क्षेत्रमा पर्ने अपेक्षा गरिएको छ।

यस अवधिमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि १.५२ प्रतिशतले बढ्ने अनुमान छ।

त्यस्तै, सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि पहिलो त्रैमासमा ३.०३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता, सामान्य प्रशासन तथा रक्षा, पर्यटन गतिविधि र व्यक्तिगत सेवामा देखिएको सक्रियताले सेवा क्षेत्रलाई सहयोग गर्ने मन्त्रालयको भनाइ छ।

मुद्रास्फीति उल्लेख्य रूपमा घट्यो
बजेटको मध्यावधि समीक्षा प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा औसत मुद्रास्फीति १.७ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो।

सरकारले मुद्रास्फीति नियन्त्रणमा आउनु उपभोक्ताका लागि राहतपूर्ण भए पनि उत्पादन, लगानी र माग विस्तारमा अपेक्षित गति नआएकाले समग्र आर्थिक वृद्धिदर दबाबमा परेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर