काठमाडौं- गुगलले एआईमा आफ्नो योजना अझ बलियो बनाउने भएको छ। विज्ञापन र क्लाउड व्यवसायबाट आएको राम्रो आम्दानीका कारण गुगलले यस वर्ष खर्च दोबर गर्दै १८५ अर्ब अमेरिकी डलरसम्म पुर्याउने योजना बनाएको जनाएको छ।
गुगलको माउ कम्पनी अल्फाबेटले बुधबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ का लागि पुँजीगत खर्च अनुमान १७५ अर्बदेखि १८५ अर्ब डलरको दायरामा पुर्याइएको छ।
गत वर्षको चौथो त्रैमासमा नै गुगलको पुँजीगत लगानी लगभग दोबर भएर २७.९ अर्ब डलर पुगेको छ। यससँगै सन् २०२५ मा कुल पुँजीगत खर्च ९१.४ अर्ब डलर पुगेको कम्पनीले जनाएको छ।
नयाँ जेमिनी एआई मोडेलहरूका कारण गुगल एआई प्रतिस्पर्धामा फेरि गति लिन सफल भएको देखिन्छ। ठूलो आम्दानी, आफ्नै अत्यधुनिक चिप (टीपीयू) र इनहाउस प्रविधिको बलमा गुगलले ओपन एआईलगायतका प्रतिस्पर्धीसँगको दुरी घटाउँदै गएको छ।
गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईका अनुसार एआईमा भइरहेको ठूलो लगानी कम्पनीको आम्दानी र नगद प्रवाहमा आएको उल्लेखनीय वृद्धिले सम्भव भएको हो। विज्ञापन आम्दानी निरन्तर बढिरहेको छ भने एआईप्रतिको बढ्दो मागले क्लाउड व्यवसायलाई पनि उचालिरहेको छ।
‘यस वर्षको पुँजीगत खर्च भविष्यलाई ध्यानमा राखेर गरिएको हो,’ पिचाईलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, ‘हाम्रा सेवाप्रति देखिएको व्यापक माग, गुगल डीपमाइन्ड र क्लाउडमा गर्नुपर्ने लगानी अत्यन्तै बलियो छ।’
पिचाइले डाटा सेन्टर र आफ्नै एआई चिप (टीपीयू) मा ठूलो लगानी गरिए पनि डीपमाइन्ड र ग्राहकहरूबाट आउने माग अझै बढी हुने अनुमान व्यक्त गरेका छन्।
एआईमा यति ठूलो खर्च गर्ने खबरपछि बजारमा चासो र चिन्ता दुवै देखिएको छ। खबर सार्वजनिक भएपछि गुगलको सेयर आफ्टर आवर्स कारोबारमा सुरुमा ७ प्रतिशतभन्दा बढीले घट्यो। यद्यपि पछि केही सुधार भएर करिब १.५ प्रतिशतले मात्र तल झर्यो।
एआई क्षेत्रमा भइरहेको तीव्र लगानीलाई लिएर सार्वजनिक र निजी बजारमा ‘बबल’ बन्न सक्ने डर लगानीकर्तामा देखिँदै आएको छ। किनकि आम्दानी अझै लगानीको तुलनामा धेरै पछाडि छ।
गत साता माइक्रोसफ्टले पनि यस वर्ष पुँजीगत खर्च १४० अर्ब डलर नाघ्ने खुलासा गरेपछि कम्पनीको सेयर १० प्रतिशतभन्दा बढीले घटेको थियो। तर मेटाले भने एआईले विज्ञापन प्रभावकारिता बढाएको देखाउन सकेकाले १३५ अर्ब डलर खर्चको अनुमान दिँदा पनि सेयर उकालो लागेको थियो।
गुगलको चौथो त्रैमासिक खुद नाफा वार्षिक रूपमा ३० प्रतिशतले बढेर ३४.५ अर्ब डलर पुगेको छ। सन् २०२५ मा अल्फाबेटले कुल १३२ अर्ब डलर नाफा कमाएको छ। कम्पनीको त्रैमासिक आम्दानी १८ प्रतिशतले बढेर ११३.८ अर्ब डलर पुगेको छ। यससँगै गुगलको वार्षिक बिक्री पहिलोपटक ४०० अर्ब डलर नाघेको छ।
मुख्य सर्च र विज्ञापन व्यवसायबाट मात्रै गुगलको त्रैमासिक रूपमा ६३.१ अर्ब डलर आम्दानी भएको छ। जुन अनुमानभन्दा बढी हो। यसले ओपनएआईको च्याट जीपीटी र एलन मस्कको गोर्कजस्ता एआई च्याटबोटले प्रयोगकर्ता खोसिरहेका छन् भन्ने चिन्तालाई केही हदसम्म कम गरेको छ।
पिचाईका अनुसार परम्परागत सर्च नतिजामा ‘एआई मोड’ र ‘ओभरभ्यू’ थप्दा वा जेमिनी च्याटबोट सार्वजनिक गर्दा विज्ञापन आम्दानी घटेको कुनै प्रमाण देखिएको छैन।
गुगल क्लाउडको आम्दानी ४८ प्रतिशतले बढेर १७.७ अर्ब डलर पुगेको छ। जुन अपेक्षाभन्दा माथि हो। एआई मोडेल तालिम र सञ्चालनका लागि कम्प्युटिङ शक्तिको बढ्दो माग यसका प्रमुख कारण भएको बताइएको छ।
गएको डिसेम्बरको अन्त्यसम्म गुगलको क्लाउड सम्झौता ब्याकलग २४० अर्ब डलर पुगेको छ। जुन सेप्टेम्बरको तुलनामा ५५ प्रतिशत बढी हो। ‘२०२५ मा १ अर्ब डलरभन्दा ठूला सम्झौताको संख्या अघिल्ला तीन वर्षको कुलभन्दा बढी भयो,’ पिचाईले बताएका छन्।
गुगलको प्रमुख उपभोक्ता एआई उत्पादन जेमिनी एपका मासिक प्रयोगकर्ता ७५० मिलियन पुगेका छन्। जुन अघिल्लो त्रैमासको भन्दा १०० मिलियन बढी हो।















