काठमाडौं । टर्कीको केन्द्रिय बैंकले आफ्नो बेन्चमार्क ब्याजदर १०० आधार बिन्दुले घटाएर ३७ प्रतिशत कायम गरेको छ । मुद्रास्फीति घट्दै गएको संकेत देखिएसँगै बैंकले क्रमिक रूपमा मौद्रिक नीति खुकुलो बनाउने प्रक्रियालाई निरन्तरता दिएको हो ।
यो कटौती गत ग्रीष्म ऋतुदेखिको पाँचौं पटकको घटावट हो । जसले बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्न विगतमा अपनाइएको कडा मौद्रिक नीतिबाट बैंक विस्तारै पछि हट्दै गएको संकेत गर्दछ । नीतिगत बैठकपछि जारी विज्ञप्तिमा बैंकको मौद्रिक नीति समितिले आधारभूत मुद्रास्फीति प्रवृत्तिमा गिरावट आएको उल्लेख गरेको छ । आन्तरिक मागले हाल मुद्रास्फीति नियन्त्रण (डिसइन्फ्लेसन) प्रक्रियालाई सहयोग पुर्याइरहेको भए तापनि यसको गति केही सुस्त भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार मुद्रास्फीति अपेक्षाहरू र मूल्य निर्धारण व्यवहारले अझै पनि जोखिम निम्त्याउन सक्ने भएकाले आगामी दिनमा थप कटौती तथ्याङ्कमा आधारित हुनेछ । सन् २०१८ को मुद्रा संकटपछि टर्कीको अर्थतन्त्र लगातार दोहोरो अङ्कको मुद्रास्फीतिसँग जुधिरहेको छ । जसले टर्कीको मुद्रा लिरालाई कमजोर बनाउनुका साथै सर्वसाधारणको क्रयशक्तिमा ह्रास ल्याएको छ ।
हालैको तथ्याङ्कले मुद्रास्फीतिको चरम बिन्दु पार भएको देखाएको छ । डिसेम्बरमा वार्षिक मुद्रास्फीति दर ३०.८९ प्रतिशत कायम भएको छ, जुन नोभेम्बरमा ३१.०७ प्रतिशत थियो । बिहीवारको १०० आधार विन्दुको कटौती डिसेम्बरको १५० आधार विन्दुको तुलनामा कम हो । जसले बैंकले मूल्य स्थिरता कायम गर्न ब्याजदर घटाउने गतिलाई केही सुस्त बनाएको देखाउँछ ।















