२०८२ मंसिर २१ आईतवार

काठमाडौं – बैंक तथा वित्तीय संस्थामा हालसम्म कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप वृद्धि दर निरन्तर उकालो लागेको हो।

कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकहरूले मात्रै ६७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। वाणिज्य बैंकहरूको हिस्सा मात्र ५० खर्ब १२ अर्ब कर्जा रहेको छ।

राष्ट्र बैंकका तथ्यांकअनुसार विकास बैंक र फाइनान्स कम्पनीहरूले ७ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् भने कर्जा प्रवाह ६ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ। हाल बैंकिङ क्षेत्रमा कायम निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७४.२५ प्रतिशत छ, जसले कर्जा प्रवाह गर्ने क्षमता अझै पनि पर्याप्त रहेको देखाउँछ।

तर, पछिल्लो समय कर्जाको माग घट्दो क्रममा छ। बैंकहरूले निर्धारण गर्ने औसत आधारदर पनि क्रमशः घट्दै गइरहेको छ।

कात्तिक महिनाको लागि बैंकहरूको औसत ब्याजदर ५.६७ प्रतिशत कायम गरिएको छ, जुन पछिल्ला वर्षहरूकै न्यून दर हो। यसमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले कर्जा लगानी गर्दै आए पनि कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन।

जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका घरनामाथि भएको आक्रमणपछि लगानीकर्ताहरू त्रसित बनेका छन्। नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका संघसंस्थाहरूले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गर्दै आएका छन्।

कर्जा प्रवाह सुस्त रहँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिन थालेको छ। यस अवस्थालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा दीर्घकालीन मौद्रिक उपकरणको प्रयोग गर्दै निक्षेप संकलन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर