२०८२ मंसिर १ सोमबार

काठमाडौं : पुँजी बजार सुधारको माग गर्दै सेयर लगानीकर्ता विरोध प्रदर्शनमा उत्रिने भएका छन् । ‘हिँड काठमाडौं संघर्ष अभियान’ का नाममा लगानीकर्ता विरोधमा उत्रिन लागेका हुन् ।

अगुवा लगानीकर्ता दिपेन्द्र अग्रवालले विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनको घोषणा गरेका छन्। उनले नेपाल धितोपत्र बोर्ड (सेबोन) परिसरमा कार्तिक १४ गते शुक्रबार विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन्। बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पुँजी बजार सुधार तथा स्तरोन्नतिका नीति र कार्यक्रम कार्यान्वयन गर्न नसके तत्काल राजीनामा दिनुपर्ने मुख्य मागसहित अग्रवालले २८ बुँदे ज्ञापनपत्र सार्वजनिक गरेका छन्।

अध्यक्षको राजीनामादेखि नीतिगत सुधारसम्मका माग
लगानीकर्ता अग्रवालद्वारा सार्वजनिक २८ बुँदे ज्ञापनपत्रमा पूँजी बजारको दीर्घकालीन विकास र लाखौं लगानीकर्ताको हित सुनिश्चित गर्न विभिन्न नीतिगत र व्यवस्थापकीय सुधारको माग गरिएको छ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ पूँजी बजार सुधारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न असमर्थ भए तत्काल राजीनामा दिनुपर्ने उनको मुख्य माग छ । यसैगरी एनआरएनलाई नेपालको दोस्रो बजारमा फ्री इन्ट्री र फ्री एक्जिटका साथै समान करको व्यवस्था गरिनुपर्ने उनले माग राखेका छन् ।

यस्ता छन् अन्य माग
– लगानीकर्ताले सेयर बिक्री गर्दा भुक्तानीमा ढिलाइ भए ब्रोकरबाट ब्याज असुल उपर गर्न पाउने व्यवस्था ल्याउनुपर्ने
– बैंकलाई कुल कर्जाको २० प्रतिशत सेयर धितो कर्जाका रूपमा प्रवाह गर्न दिइनुपर्ने
– ब्रोकर कमिसनमा ५० प्रतिशत कटौती हुनुपर्ने
– अल्पकालीन लगानीका लागि ५ प्रतिशत तथा दीर्घकालीन लगानीका लागि शून्य प्रतिशत कर कायम गर्नुपर्ने
– कर्मचारीहरूको हित र समान पहुँच सुनिश्चित गर्न बजार समय बेलुकाको पाँच बजेदेखि नौ बजेसम्म सारिनुपर्ने
– हरेक ३ वर्षमा नयाँ ब्रोकर लाइसेन्स थप हुनुपर्ने व्यवस्था अनुरूप लगानीकर्ताको बजारमा पहुँच सहजीकरणका लागि ब्रोकरको संख्या बढाइनुपर्ने
– सेबोन र नेप्से सञ्चालक समितिमा लगानीकर्ताका तर्फबाट अनिवार्य प्रतिनिधि समावेश गरिनुपर्ने
– प्रिमियम र बुक बिल्डिङ प्रक्रियाद्वारा आईपीओ निष्कासन पूर्ण बन्द गर्नुपर्ने

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार विगत एक महिनाभन्दा बढी समयदेखि सेबोनको दैनिक काम कारबाही कर्मचारी व्यवस्थापनको संकटले प्रभावित भएको छ। नियामक निकाय आफैं व्यवस्थित हुन नसक्दा समग्र पूँजी बजारको भविष्य र लाखौं लगानीकर्ताको हितमाथि गम्भीर प्रश्न उठेको छ।

पूँजी बजारको स्थिरताका लागि जिम्मेवार सेबोन र नेप्सेका कर्मचारीहरू आफूले विगतमा खाइपाई आएका सेवा सुविधामा कटौती भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन्। कर्मचारीको आन्दोलनका कारण बोर्डको नीति निर्माण, नयाँ सेयर निष्कासनको स्वीकृति (आईपीओ र एफपीओ), बजार सुधारका कामहरू र नेप्सेको कारोबार सञ्चालनमा समेत प्रत्यक्ष असर परिरहेको छ।

पुँजी बजारको नियमन गर्ने निकायको नेतृत्व र कर्मचारीबीच नै विश्वासको संकट उत्पन्न हुँदा बजारको विश्वसनीयतामा गम्भीर आँच आएको लगानीकर्ताको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय