२०८२ मंसिर २१ आईतवार

एजेन्सी – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घट्न थालेको छ । गोल्ड प्राइस डटकमका अनुसार पछिल्लो दुई सातामा सुनको मूल्य उल्लेख्यमात्रामा घटेको छ । अन्तर्राष्ट्रियस्तरमा शान्तिका सम्भावना र अमेरिकाले छेडेको व्यापार युद्ध साम्य हुने संकेत मिल्न थालेपछि सुनको भाउ ओरालो लाग्न थालेको हो ।

अघिल्लो साता र यो सातामा गरी करिब प्रतिऔंन्स ४०० अमेरिकी डलर घटेको छ । यस्तै, १ महिनाको अवधिमा ०.१० प्रतिशतले सुनको मूल्यमा गिरावट आएको छ । यससँगै, सुनको मूल्य प्रतिऔंन्स ३९ सय अमेरिकी डलरसम्म आइपुगेको छ ।

पछिल्लो दुई साताको अवधिमा सुनको मूल्यमा उल्लेख्य गिरावट आउनुमा मुख्यगरी दुई/तीन वटा कारण देखिन्छन् । इजरायल र हमासबीचको युद्धविराम र शान्ति सम्झौता पहिलो कारणकारुपमा मानिएको छ । किनकि, अन्तर्राष्ट्रियरुपमा छाउने अशान्तिपछि लगानीकर्ताले सुरक्षा खोज्दै सुनमा लगानी गर्छन् ।

इजरायल पछिल्लो समय खाडी क्षेत्रमा नै आक्रामक बनेका निस्किएको थियो । सुरुमा इरानसँगको युद्ध र सुरक्षित मानिएको कतार भित्रै पुगेर गरेको हमलाले खाडीमा तहल्का मच्चिएको थियो । अमेरिकी राष्ट्रपतिको पहलमा भएको शान्ति सम्झौताले सुनको मूल्य घटाउन धेरथोर सहयोगी भूमिका खेल्यो ।

यसबाहेक, दोस्रो कारण भनेको अमेरिकाले सुरु गरेको विश्वव्यापी व्यापार युद्धका कारण विश्वभरका लगानीकर्ता तनावमा थिए । खासगरी अमेरिका र चीनबीचको व्यापार युद्धको प्रभाव विश्वभरका लगानीकर्तामा परेको थियो । यसले एक प्रकारको आर्थिक संकट नै निम्त्याउने प्रक्षेपणहरू भएको थियो । तर, अमेरिका र चीनबीच व्यापार सम्झौता हुने पूर्व संकेत मिलेपछि लगानीकर्ता अन्य क्षेत्रमा लगानीको विश्वास पलाएको थियो ।

अमेरिकासँग चीन रुष्ट हुँदा रेअर अर्थ निर्यातमा कडाइ गरेको थियो । जसको प्रभाव हतियार उद्योगदेखि विद्युतीय सवारी उत्पादक, मोबाइल तथा अन्य विद्युतीय सामाग्री उत्पादक प्रभावित बनेका थिए । फलरुवरुपः लगानीकर्ताले सुनमा लगानी खन्याउँदै आएका थिए । अब चीनसँग सम्झौता हुने भएपछि युरोपेलीसँगै अमेरिकी बजार चलायमान बन्ने अपेक्षा गरिएको छ ।

यस्तै, अमेरिकी केन्द्रीय बैंक प्रणाली ‘फेडेरल रिजर्भ’ (फेड)ले कोभिडकालमा बढाएको ब्याजदर घटाउने तयारी थालेको छ । सम्भवतः बुधबार ब्याजदर घटाउनेछ । योसँगै डलरको ब्याजदर सस्तो हुन्छ र विश्व बजार चलायमान हुने अपेक्षा राखिएको छ । कोरोना कालमा डलरलाई बलियो बनाइराख्न र विश्वभरबाट अमेरिकामा पैसा ल्याउने लक्ष्यसहित फेडले ब्याजदर बढाएको थियो।

यसबाहेक, २०१९ देखि निरन्तर बढ्दै आएको सुनको मूल्यले ब्रेक लाग्ने छाँट देखाएको थिएन । ५ वर्ष निरन्तर बढ्दै सुनको मूल्य ११४ प्रतिशतले उकालो लाग्यो । ब्रेक बिनै बढेको सुनको मूल्य बास्तविक्ताभन्दा पनि ‘सुन्निएको’ अन्तर्राष्ट्रिय विश्लेषकहरू बताउँदै आएका थिए । जसकारण, सुनको मूल्य घट्ने अवस्थामा पुगेको उनीहरूको तर्क छ ।

अब रुस–युक्रेन युद्ध रोकिएमा र स्थायी शान्ति सम्झौता भएमा सुनको मूल्य अझै घट्ने प्रक्षेपणहरू हुन थालेका छन् । सन् २०२२ मा सुरु भएको युद्ध रोकिएमा यसले समेत अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटाउन सहयोगी भूमिका खेल्छ । किनकि, अन्तर्राष्ट्रियस्तरमा हुने यस प्रकारका युद्धले सुनसँगै पेट्रोलियम पदार्थको मूल्य समेत बढाउँछ ।

साथै, अमेरिकाले विश्वभरका देशहरूलाई डलरको विश्वास दिलाउन सकेमा थप मूल्य घट्छ । जब रुसले युक्रेनमाथि हमला गर्‍यो तब अमेरिकाले रुससँग रिजर्भमा रहेको ४०० बिलियन डलरलाई काम नलाग्ने बनाइदियो । यसपछि विश्वभरका देशहरू अमेरिकासँग तरङ्गित बने र डलरको लगानी सुनमा खन्याउन थाले । जसकारण, बजारमा माग सृजना भयो र मूल्य आकासियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर