२०८२ फाल्गुन २९ शुक्रबार

काठमाडौ । दशैंको धार्मिक तथा संस्कृतिक महत्व जति छ आर्थिक रुपमा पनि यसको महत्व त्यति नै छ । उद्योगी व्यवसायीहरु दशैं आउनु भन्दा दुई/तीन महिना अघिदेखि नै सामान आयात र उत्पादनको तयारीमा जुट्ने गर्छन् । उत्पादन गर्नेहरु कच्चा पदार्थको जोहोमा लाग्छन् भने आयात गर्नेहरु एलसी खोल्ने तयारीमा जुट्छन् ।

आज हामी नेपाली अर्थतन्त्रमा दशैं पर्वको योगदान र यसले अर्थतन्त्र चलायमान बनाउन खेल्ने भूमिकाबारे चर्चा गर्नेछौं । दशैंमा वस्तु तथा सामग्रीको किनमेलका साथै यसले सबै वर्ग, समूदाय तथा भौगोलिक क्षेत्रमा आर्थिक गतिविधि तिव्र बनाउँछ । जसकारण समग्र अर्थतन्त्रलाई अघि बढ्न सघाउ पुग्छ । यसका अलावा आजको एनपी रिपोर्टमा हामी दशैंमा सबैभन्दा बढी चलायमान हुने क्षेत्र र त्यसबाट समग्र अर्थतन्त्रले लिन सक्ने लाभका विषयमा पनि विश्लेषण गर्नेछौं । पछिल्लो ३/४ वर्षदेखि नेपालको अर्थतन्त्र संकुचनमा छ ।

अर्थविद्हरुलाई अर्थन्त्र चलायमान कहिले हुन्छ भनि सोध्यो भने पनि दशैंको चहलपहललाई हेरेर भन्न सकिने बताउँछन् । दशैं नेपालीको सबैभन्दा ठूलो चाड भएकै कारण पढाइ तथा रोजगारीको सिलसिलामा विदेशमा रहेकाहरु पनि यसै समयमा स्वदेश आउने गर्छन् । विदेशमै रहेकाहरुले पनि दशैमा घर पैसा पठाउने हुँदा अरु समयको भन्दा दशैमा रेमिट्यान्स धेरै आउने गर्छ ।

यातायातका साधानहरु बस र एयरलायन्सहरु पनि यसै समयमा भरीभराउ हुन्छन् । उपत्यकाबाट फूलपातीदेखि दशमीसम्ममा १४ देखि १५ लाख यात्रु बारिहिने गर्छन् । अन्य शहरी क्षेत्रबाट समेत लाखौंको संख्यामा पुख्र्यौली थलो जाने गर्छन् । जसकारण शहरको पुँजी गाउँगाउँमा पुग्ने गर्छ । खसी बोका र भेडा च्यांग्रा खरिद गर्न सहरका व्यापारीहरु दुर्गम गाउँदेखि हिमाल पारिका मनाङ र मुस्ताङसम्म पुग्ने गर्छन् ।

दशैमा चलायमान हुने मुख्य क्षेत्र
१) खुद्रा व्यापार
यो समयमा सबैभन्दा बढी कारोबार खुद्रा व्यापारको हुने गर्छ । जसमा लत्ताकपडा, जुत्ता, गरगहना, इलेक्ट्रोनिक्स वस्तु, गिफ्ट, गाडी, घडी, मोवाइल जस्ता वस्तुको अत्यधिक कारोबार हुने गर्छ । वार्षिक कुल व्यापारमध्ये ४० प्रतिशत व्यापार दशैंकै समयमा हुने गरेको व्यापारीहरु नै बताउँछन् ।

यो समयमा राम्रो व्यापार हुन नसके बैंकको व्याज तिर्नै हम्मेहम्मे हुने खुद्रा व्यापारीहरुको अनुभव छ । राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष नरेश कटुवालका अनुसार पोहोर बाढीका कारण र यस पटक जेनजी आन्दोलनका कारण दशैंको सामान ल्याउन र बिक्री गर्न समस्या भएको छ । अपेक्षा गरिए अनुरुपको बिक्री नहुँदा त्यसको असर अर्थतन्त्रमा पर्ने देखिन्छ ।

२) कृषि तथा पशुपालन
दशैंको समयमा शहरको पुँजी गाउँ–गाउँसम्म पुर्याउने सबै भन्दा महत्वपूर्ण भूमिका कृषिको हुने गर्छ । भेडा–च्यांग्रा, खसी–बोका, राँगा, कुखुरा, तरकारी तथा फलफूल शहर भित्रिन्छ । त्यस्तै डोको डालो, नाङ्ला चित्राको पनि दशैको समयमा लाग्ने मेलामा राम्रै कारोबार हुन्छ ।

३) हवाई तथा सडक यातायात
दशैंको समयमा चलायमान हुने अर्को क्षेत्र हो हवाई तथा सडक यातायात । एकै पटक धेरै जनाले यात्रा गर्ने हुँदा सार्वजनिक सवारीसाधान यस समयमा यात्रुले भरिभराउ हुन्छन् । यस्तै, एयरलाईन्स कम्पनीलाई पनि चाडपर्वको बेला यात्रु ओसार्न भ्याईनभ्याई हुन्छ । यो समयमा यात्रु बोक्ने बस, माइक्रो, एयरलायन्स देखि मालबाहक ट्रक र पीकपअ भ्यान समेतको राम्रै चलायमान हुने गर्छ ।

४) बैंक तथा वित्तिय संस्था
बैंक मार्फत धेरै कारोबार हुने हुँदा दशैंको समयमा बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार पनि उल्लेख्य रुपमा हुने गर्छ । विदेशबाट आउने रेमिट्यान्स, सामान खरिद बिक्री गर्दा हुने दशंैको कारोबार, सामान आयातमा खोलिने एलसी, लोन, क्युआर भुक्तानीले यो समयमा बैंक तथा वित्तीय संस्थाको अर्बौंको कारोबार हुने गर्छ ।

५) पर्यटन
यो सिजन विदेशी पर्यटक आउने समय पनि हो । तर यसै समयमा नेपालीहरु पनि विभिन्न ठाउँ घुम्न जाने गर्छन् । आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ, अन्नपूर्ण आधार शिविर, रारा लगायतका ठाउँ घुम्न जान्छन् भने विदेश जाने प्रचलन पनि बढेका कारण ट्राभल एजेन्सी होटेल, रिसोर्ट, रेष्टुरेन्टहरुको कारोबार पनि बढ्ने गर्छ ।

६) मनोरञ्जन
सबै दशंैमा रमाइरहेको समयमा फिल्म हल खासै चल्दैनन् होला भन्ने धेरैलाई लाग्छ । तर दशैंको समयमा फिल्म रिलिज गर्न निर्माताहरु तँछाडमछाड नै गर्छन् । यसपालिको दशैंमा पनि ठूलो ब्यानर र लगानीका फिल्म रिलिज हुँदैछन् । दशैंको समयमा रिलिज हुने फिल्मले राम्रो कमाइ गर्ने गरेका छन् । दशैंमा फुर्सद हुने र परिवारका सबै सदस्य सँगै हुने हुँदा फिल्म हेर्ने यो उपयुक्त अवसर बन्छ ।

७) निर्माण र सजावटका सामग्री
दशैको समयमा घरमा रंगरोगन गर्ने हाम्रो पुरानै चलन हो । पहिले पहिले घर कमेरोले रंग्याइन्थ्यो । तर, अहिले भने विभिन्न ब्राण्डका पेन्टले रंग्याइन्छ । यो समयमा घर पेन्टिङ, मर्मत सम्भार, नयाँ फर्निचर खरिद, लाइटिङ, होम–अप्लायन्स थप गरिन्छ । दशैंमा राम्रो कारोबार हुने हुँदा व्यवसायीले छुट पनि धेरै दिने गर्छन् ।

यी बाहेक सैलुन, व्यूटी पार्लर, टेलरिङको पनि राम्रो व्यापार हुने गर्छ । २०७६ सालको असोजमा नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको दशैंमा ८ खर्बको कारोबार भएको तथ्यांक सार्वजनिक गरेको थियो । वर्षभरीमा कुल २२ खर्ब ९८ अर्ब घरायसी खर्च भएकोमा दशैंको समयमा मात्रै ८ खर्ब रुपैयाँ खर्च भएको थियो । त्यसपछि भने राष्ट्र बैंकले यस्तो अध्ययन गरेको छैन ।

त्यो समयमा नेपालको कुल जिडीपी ४० खर्ब रुपैयाँको थियो भने अहिले ६१ खर्बभन्दा माथिको छ । जिडीपीमा भएको वृद्धि अनुसार अहिले १५ खर्ब रुपैयाँ हाराहारीमा दशैं अवधिमा आर्थिक कारोबार हुने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर