२०८२ फाल्गुन २९ शुक्रबार

काठमाडौं – नेपालमा पछिल्लो समय बैंकिङ कसुरको घटना निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउनमा मात्रै १ हजार ६ सय ३ बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

यस्तै गत आर्थिक वर्षको २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म देशभर १३ हजार ८३७ बैंकिङ कसुरको जाहेरी दर्ता भएका थिए । तीमध्ये काठमाडौं, भक्तपुर र ललितपुरमा ८ हजार ८० वटा बैंकिङ कसुरको जाहेरी दर्ता भएका थिए । यो देशभर दर्ता भएका कुल संख्याको ५८ दशमलव ३९ प्रतिशत हो । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा काठमाडौंमा दर्ता हुने गरेका छन् । बैंकिङ कसुरमा घटना बढेसँगै जेल जानेहरुको संख्या पनि बढेको छ ।

खातामा रकम नहुँदानहुँदै पनि जानाजानी चेक दिने चलनले चेकबाउन्सका घटना छ, एउटा चेकको विश्वासमा मान्छेले आफ्नो कारोबार गर्छन्, सापट लिन्छन् । पछि तिर्न नसक्दा वा बेइमानी गरेर दिएको चेक भुक्तानी नहुँदा बैंकिङ कसुर ऐनअन्तर्गत कारबाही गरिमाग्ने प्रचलनले पनि यस्ता मुद्दाहरू बढेका हुन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार दर्ता हुने बैंकिङ कसुरमध्ये सबैभन्दा ठूलो हिस्सा चेक बाउन्ससँग सम्बन्धित छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ३८ हजार ९४८ वटा चेक बाउन्स सम्बन्धी मुद्दा दर्ता भएका छन्।

बैंकिङ कसुरका मुद्दा बढ्नु भनेको कानुनी चेतना पनि हो । आफूले काटेको चेक आफैँविरुद्धको प्रमाण हो भन्ने सामान्य चेतना नहुँदा पनि बैकिङ कसुरका मुद्दाहरू बढिरहेका छन् ।

सहकारी र फाइनान्स कम्पनीहरूको अनियमित सञ्चालन हुने गरेका छन् । त्यहाँबाट ब्याजमा पैसा लिएर अर्को व्यक्तिलाई थप ब्याजको लोभमा लगानी गर्ने र व्यावसायिक रूपमा नै सापटी लगाइरहने प्रचलनले पनि यस्ता समस्या बढेका छन् ।

त्यस्तै कर्जा फिर्ता गर्न नसक्ने व्यवसायीको संख्या बढेको छ । कुनै ठाउँबाट पैसा आउँछ भनेर विश्वासमा चेक काटेर दिन्छन्, त्यहाँबाट आउँदैन अनि भुक्तानी पाउनुपर्ने मान्छेले त्यही चेकलाई आधार बनाएर मुद्दा दर्ता गर्ने प्रचलन बढेको छ ।

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दोस्रो संशोधन ऐन, २०८२ यही २०८२ बैसाख २४ गतेदेखि लागु भएको छ । ऐनमा बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गत कसुर भएको कुरा थाहा पाएको मितिले १ वर्षभित्र जाहेरी दिनुपर्ने र जाहेरी परेको मितिले ६ महिनाभित्र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर