काठमाडौं । मुक्तिनाथ विकास बैंकको काठमाडौं महानगरपालिका ४, धुम्बाराही (चिलिमे टावर) स्थित शाखा कार्यालय नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ । वित्तीय सेवाहरूको विविधीकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएको मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई नयाँ स्थान, काठमाडौं महानगरपालिका ४ मा रहेको चिलिमे टावरमा स्थानान्तरण गरी औपचारिक रूपमा वित्तीय सेवाको शुभारम्भ गरेको हो ।
सो अवसरमा कार्यकारी निर्देशक पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवा विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिनुभएको थियो । बैंकले हाल गरिरहेकै प्रगतिलाई निरन्तरता दिँदै नयाँ शाखाबाट पनि उत्कृष्ट सेवा प्रदान गर्न उहाँले आग्रह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक उमेश आचार्य, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणका लागि बैंक तथा नियामक निकायले अख्तियार गर्नुपर्ने रणनीतिबारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यक्रमका सभापति तथा बैंक सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीले उत्कृष्ट ग्राहक सेवाको महसुस गर्ने विश्वास बैंकले लिएको छ ।















