२०८२ फाल्गुन २५ सोमबार

काठमाडौं – सरकारले अर्थतन्त्र चलायमान भएको दाबी गरे पनि बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिँदा नेपाल राष्ट्र बैंकले साउनयता मात्रै ११ पटकमा ५ खर्ब ५ अर्ब रुपैयाँ बजारबाट उठाएको छ । साउन ४ गते ५० अर्ब, ७ गते ८० अर्ब, ११ गते ५० अर्ब, १४ गते २५ अर्ब, १८ गते ५० अर्ब, २१ गते ४० अर्ब र २८ गते २५ अर्ब रुपैयाँ बजारबाट तानेको हो ।

त्यस्तै भदौ १ गते ६० अर्ब, ४ गते ३० अर्ब, ८ गते ५० अर्ब र ११ गते ४५ अर्ब गरी कुल ५ खर्ब ५ अर्ब रुपैयाँ केन्द्रीय बैंकले बजारबाट उठाएको छ । राष्ट्र बैंकले बजारबाट निरन्तर रकम खिचिरहे पनि कर्जा प्रवाह बढ्न नसक्दा बैंकमा रकम थुप्रिँदै गएको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७२ खर्ब ३३ अर्ब रुपैयाँ छ । यसमध्ये ५५ खर्ब ५३ अर्ब कर्जा प्रवाह भएको छ ।

हाल संकलित निक्षेप ७२ खर्ब ३३ अर्बको १० प्रतिशत सिडी रेसियोको लागि छुट्याउने हो भने पनि ९ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थामा जम्मा हुन आउँछ । राष्ट्र बैंकका अनुसार अहिले बैंकको सिडी रेसियो ७६.३३ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय क्षेत्रमा ७२ खर्ब ३३ अर्ब निक्षेप छ, जसमा वाणिज्य बैंकहरुमा ६४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप छ । यसैगरी वाणिज्य बैंकहरुले ४९ खर्ब ७१ अर्ब ऋण लगानी गरेका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाको सिडि रेसियो ७६.३३ प्रतिशत छ । यस हिसाबले बैंक तथा वित्तीय संस्थामा १६ खर्ब ४० अर्ब रुपैयाँ रहेको १० प्रतिशत सिडि रेसियोको लागि राख्दा पनि ९ खर्ब १७ अर्ब रुपैयाँ बैंकमा अधिक तरलता रहेको देखिन्छ ।

एकातर्फ बैंकले गरेको लगानी उठ्न नसक्दा खराब कर्जा बढ्दै गएको छ भने अर्कोतिर कर्जाको माग भएको छैन । खराब कर्जा बढेपछि बैंकहरु पनि हच्किरहेका छन् । अर्थतन्त्र चलायनम नहुँदा बैंकसँग लगानीयोग्य पुँजी लामो समयदेखि अधिक रहँदै आएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी भने अहिलेको अवस्थामा अर्थतन्त्र शिथिल छ भन्नु अर्थतन्त्र नबुझ्नु भएको बताउँछन् । उनले भने, ‘एक वर्षअघि ४ वटा क्षेत्रको वृद्धि ऋणात्मक थियो । त्यसमा पनि निर्माण क्षेत्र १३ प्रतिशतले ऋणात्मक थियो । अहिले १८ वटै क्षेत्रको वृद्धि सकारात्मक छ । बजारमा एक-दुई वटा सटर खाली छन् भन्दैमा अर्थतन्त्र शिथिल भन्न मिल्दै । ती अर्थतन्त्रका सूचक होइनन् ।’

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा सरकारको तथ्यांकमा मात्रै अर्थतन्त्र चलायमान भएर नहुने भन्दै त्यसको रिफ्लेक्ट बजारमा पनि देखिनुपर्ने बताउँछन् । उनले भने, ‘सुधार भएको भए व्याजदर बढ्थ्यो, रोजगारी सिर्जना हुने थियो तर सुधार कहिँ देखिँदैन । बैंकिङ प्रणालीमा रकम थुप्रिँदा महिनैपिच्छे निक्षेपको ब्याजदर पनि घटिरहेको छ। तर कर्जा बढ्ने सम्भावना देखिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर