
काठमाडौं। सेयर बजारमा ६ महिनायताकै सबैभन्दा कम रकमको कारोबार भएको छ। धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको सूची सार्वजनिक गर्न थालेपछि सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको हो।
गत २०७७ पुस २२ यताको सबैभन्दा कम कारोबार मंगलबार भएको हो। त्यो दिन बजारमा ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको थियो। त्यो दिन सूचक २१७८ अंकमा बन्द भएको थियो। मंगलबार ४ अर्ब २२ करोड ४० लाख रुपैयाँको किनबेच भएको छ। सूचक पनि ५.२५ अंकले घटेर २८१८ अंकमा झरिसकेको छ। सूचक पनि जेठ ९ गतेयताको सबैभन्दा कम हो।
कारोबार रकम घट्नुमा निषेधाज्ञा प्रमुख कारक रहेको विश्लेषकहरु बताउँछन्। निषेधाज्ञा लागेपछि सबै आर्थिक क्रियाकलाप ठप्प थियो- सेयर बजार बाहेक। साना-साना पसल चलाउनेदेखि ठूलो ठूलो व्यवसाय गर्नेहरुसम्म सेयर बजारमा भित्रिएका थिए। उनीहरुको कारण बजारमा एकै दिन १९ अर्ब ४२ करोड ३४ लाख रुपैयाँसम्मको सेयर किनबेच भएको थियो। एउटै ब्रोकरले दैनिक ६० लाख रुपैयाँसम्म कमाएका थिए।
निषेधाज्ञा खुलेपछि सेयर बजारमा आएको पैसा आफ्नो नियमित ब्यापार ब्यवसायमा फर्किएको छ। मालपोत खुलेका कारण सेयरको पैसा घरजग्गा खरिदमा जान थालेको छ। ‘मुख्य कुरा निषेधाज्ञा नै हो। दोस्रो भनेको बजार घट्ने ट्रेण्डमा गएपछि लगानीकर्ता बाहिरिन्छन्। अहिले उनीहरु बाहिरिन थालेका हुन् भन्ने हिजोआजको कारोबारले देखाउँछ,’ एक ब्रोकरले भने।
बजार घट्दा पनि राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य प्रति कित्ता १६९२ रुपैयाँले बढेर २२ हजार ५२ रुपैयाँ पुगेको छ। यो ८.३१ प्रतिशतको वृद्धि हो। यसपछि माउण्टेन इनर्जीको ५.२१ प्रतिशतले मूल्य बढेको छ भने सिभिल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र समिट लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ। कुल ५८ कम्पनीको सेयर मूल्य बढेको छ।
१०६ कम्पनीको मूल्य घटेको छ। १९ को स्थिर छ। बढी गुमाउनेमा एचआइडीसीएल छ। हिजोबाट बिजुली उत्पादन थालेको अपर तामाकोशीको मूल्य पनि दोस्रो धेरै घटेको छ। रिडी हाइड्रो, नेशनल हाइड्रो र नेपाल इन्स्योरेन्सको मूल्य घटेको छ।
बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक किनबेच भएको छ कम्पनीको ३५ करोड ८७ लाख रुपैयाँको किनबेच भएको छ। यसपछि तामाकोशीको २० करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। बजारमा वाणिज्य बैंक, निर्जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा सूचक बढेको छ। बाँकी सबै घटेका छन्।