काठमाडौं – सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फन्डहरुले जेठसम्म ४ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो महिनाको तुलनामा १ अर्ब ४१ करोड ६४ लाख ३२ हजार रुपैयाँले धेरै हो ।
वैशाख महिनामा फन्डहरुले ३ अर्ब ३१ करोड नाफा कमाएका थिए । सेयर बजारमा राम्रो वृद्धि नआउँदा म्युचुअल फन्डहरुको नाफामा दबाब परेको हो । अधिकांश फन्डहरुको नाफासँगै न्याभ पनि घटेको छ । यद्दपि, ५ वटा फन्डहरु बाहेक अरुको न्याभ १० रुपैयाँभन्दा माथि छ ।
त्यसो त, म्युचुअल फन्डहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले मार्केटमा उतारचढाव आउँदा यिनीहरुको न्याभ पनि तलमाथि हुने गर्छ । जेठ महिनामा बजारमा खासै राम्रो वृद्धि देखिएन ।
मार्केट साइडवेज नै रहेको थियो । केही सीमित स्टकहरुमा मात्र चार्म देखिएको थियो । यता, फन्डहरुको सेयर बजारमा लगानी भने बढेको छ । ४४ अर्ब ८५ करोड रुपैयाँ रहेको फन्डहरुको लगानी अहिले बढेर ४५ अर्ब ८५ करोड पुगेको छ । सेयर बजारबाट आगामी दिनमा अधिक लाभ लिन सक्ने विश्लेषणसहित फन्डहरुले बजारमा लगानी बढाएको अनुमान गरिएको छ ।
फन्डहरुले लगानी बढाउँदा सेयर बजारमा पनि डिमान्ड बढ्ने छ । त्यसमाथि बजार प्रवेश गर्ने नयाँ फन्डहरुको संख्या पनि बढ्दो छ । बैंकहरुले मुद्दति खातामा प्रदान गर्ने ब्याजदर घटेसँगै यस्ता खातामा रकम जम्मा गर्ने फन्डहरुको संख्या घटेको हो ।
यसले सामूहिक लगानी कोषसँग सामान्यतयः लिक्विडिटी (लगानीयोग्य तरलता) प्रसस्तै हुने गर्छ, जसले गर्दा सेयर बजारलाई पनि सकारात्मक प्रभाव पार्ने विश्लेषकहरुको भनाई छ । जब म्युचुअल फन्डहरुले पैसा स्थिर निक्षेपमा नराख्ने निर्णय गर्छन्, यो प्रायः सेयर बजारका लागि भने सकारात्मक संकेतका रुपमा लिइन्छ ।
स्थिर निक्षेपहरु सुरक्षित भए पनि त्यसले तुलनात्मकरुपमा कम प्रतिफल प्रदान गर्छन्, त्यसैले मुद्दतिबाट पैसा झिक्नुको अर्थ फन्ड व्यवस्थापकहरुले लगानीका लागि अन्यत्र राम्रो विकल्प देखेका छन् । उदाहरणका लागि उनीहरुले पैसा, इक्विटी, बन्ड वा मुद्रा बजारका उपकरणहरुमा लगानी गर्न सक्छन्, जसले उच्च प्रतिफल दिने सम्भावना राख्छ ।
यसले बजार अवस्थाहरु अनुकूल छन् भन्ने संकेत दिन्छ । जसमा फन्ड व्यवस्थापकहरुले आफ्नो लगानी रणनीतिसँग मेल खाने क्षेत्रहरु वा विषयगत अवसरहरुको वृद्धि अपेक्षा गरेका हुन्छन् । यसका साथै, यो निर्णयले सक्रिय पोर्टफोलियो व्यवस्थापनको ध्यानलाई पनि झल्काउँछ ।
कम ब्याज दिने स्थिर निक्षेपमा पैसा राख्नुभन्दा फन्ड व्यवस्थापकहरुले लगानीकर्ताको प्रतिफललाई अधिकतम बनाउन पैसा मुद्दतिमा लगानी गरेका छैनन् । किनभने अहिले मुद्दतिमा प्राप्त हुने ब्याजदर निकै कम छ । यसबाट फन्डहरुलाई खासै लाभ हुँदैन ।















