२०८२ असार २९ आईतवार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एकैसाथ देशका विभिन्न १० स्थानमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रूपमा बैंकिङ सेवा सुरु गरेको छ। शाखा विस्तारसँगै बैंकको समग्र शाखा संख्या ३०७ पुगेको छ।

बैंकले धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौँको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा शाखा कार्यालय स्थापना गरी नयाँ स्थानहरूमा कारोबार सुरु गरेको हो। यी शाखाहरूले स्थानीयवासीलाई आधुनिक, सरल र छिटो सेवा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ।

शाखा विस्तारसँगै हाल बैंकका सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ शाखा कार्यालय, ३१२ एटीएम सेवा र ७३ एक्स्टेन्सन काउन्टर रहेका छन्। यसले बैंकको पहुँच ग्रामीण तथा सिमान्त क्षेत्रसम्म विस्तार भई आर्थिक समावेशितालाई टेवा पुर्‍याएको देखिन्छ।

राष्ट्र बैंकको निर्देशन र सरकारको आर्थिक समावेशीकरण नीतिअनुरूप शाखा विस्तार गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखाहरूबाट लघुवित्त, कर्जा, निक्षेप, डिजिटल सेवा तथा सूचनामूलक परामर्शसमेत प्रदान गर्ने लक्ष्य राखेको छ। बैंकले स्थानीय तहमा रोजगारी सिर्जना तथा सूक्ष्म उद्यमको प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने विश्वास लिएको छ।

संस्थागत रूपमा बलियो वित्तीय पृष्ठभूमि, सरकारी स्वामित्व र दीर्घकालीन बैंकिङ अनुभवसहित राष्ट्रिय वाणिज्य बैंकले भविष्यमा पनि अझ परिस्कृत सेवा प्रवाह गर्ने योजनाका साथ सेवा विस्तारलाई प्राथमिकतामा राखेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय