काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ २७ पैसा पुगेको छ । गत वर्षको चैत मसान्तमा वाणिज्य बैंकहरूको औसत ईपीएस १४ रुपैयाँ ३१ पैसा रहेको थियो । नेपालका २० वटा वाणिज्य बैंकमध्ये १० वटा बैंकको (ईपीएस) बढेको छ भने बाँकी १० वटाको घटेको छ । यस अवधिमा सबैभन्दा बढी (ईपीएस) एभरेष्ट बैंकको रहेको छ भने सबैभन्दा कम ईपीएस एनआईसी एशिया बैंकको देखिएको छ ।
एभरेष्ट बैंकको ईपीएस ६ रुपैयाँ ६ पैसाले बढेर ३५ रुपैयाँ ६१ पैसा पुगेको छ । यता, एनआईसी एशिया बैंकको ईपीएस भने १५ रुपैयाँ ८८ पैसाले घटेर १ रुपैयाँ ४१ पैसामा सीमित भएको छ । नबिल बैंक, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, प्रभु, सानिमा, नेपाल एसबिआई, माछापुच्छ्रे, र नेपाल बैंकजस्ता बैंकहरूको ईपीएस पनि वृद्धि भएको देखिएको छ । विशेषगरी नेपाल बैंकको ईपीएस उल्लेखनीय रूपमा २४ रुपैयाँ ८ पैसाले बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ ।
दोस्रो तर्फ, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिटिजन्स, सिद्धार्थ र कुमारी बैंकको ईपीएस घटेको छ । कुमारी बैंकको ईपीएस ३ रुपैयाँ ९० पैसाले घटेर १ रुपैयाँ ४५ पैसामा झरेको छ भने हिमालयन बैंकको ईपीएस ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ८ पैसामा झरेको छ ।
हाल वाणिज्य बैंकहरूको कुल चुक्ता पूँजी ३ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा कुल नाफा ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ४० अर्ब ६८ करोड रुपैयाँभन्दा थोरै मात्र बढी हो ।















