२०८२ बैशाख ११ बिहीबार

काठमाडौं – पछिल्ला वर्षहरुमा सिमेन्ट कम्पनीहरुले आम्दानीमा उल्लेखनीय गिरावट अनुभव गरेका छन् । निर्माण क्षेत्रमा मन्दी, कच्चा पदार्थ र उत्पादन लागतको वृद्धिलगायत सरकारको पुँजीगत खर्चमा कमी आउँदा निर्माण क्षेत्र नै मन्दीमा गएको जानकारहरु बताउँछन् । यस्तो बेला नाफा कमाउन पनि हम्मेहम्मे परेको सिमेन्ट कम्पनीका सञ्चालकहरुले भने आइपीओमा जाने विकल्प रोज्न थालेको पाइन्छ ।

त्यसैले पनि मन्दीको बेला यस्ता कम्पनीहरुले आइपीओ ल्याउन खोजेर लगानीकर्तासँग मोटो रकम असुल्न खोजेको आरोप पनि लागिरहेको छ । न त आम्दानी बढेको छ, न व्यापार नै । साथै, लाभांश दिन सक्ने अवस्था पनि छैन । तर पनि केही कम्पनीहरुले अंकित मूल्यमा प्रिमियम थपेर सेयर जारी गर्ने तयारी गरेका छन् ।

किनकि, सञ्चालकहरु जसरी हुन्छ महँगोमा सेयर बिक्री गरेर थुप्रै रकम कम्पनीमा ल्याउने दाउमा देखिन्छन् । तर, बजारमा प्रतिस्पर्धा बढ्दै गएको छ । निर्माण क्षेत्रमा मन्दी छ । जसकारण धेरै जसो सिमेन्टहरुको आम्दानीमा गिरावट देखिएको हो ।

त्यसो त, केही सिमेन्ट कम्पनीहरुले आफ्नो उत्पादन क्षमता बढाएका छन्, जसले गर्दा आपूर्ति मागभन्दा बढी भइरहेको छ । यसले मूल्यमा पनि प्रतिस्पर्धा बढाएको छ ।यद्दपि, केही महिनाअघि मात्रै सिमेन्टको मूल्यमा पनि वृद्धि भएको छ, यसको प्रभाव भने आगामी रिपोर्टहरुमा हेर्न बाँकी नै छ । तर, कच्चा पदार्थको मूल्य र उर्जा लागतमा आएको वृद्धिले सिमेन्ट उत्पादनको लागतलाई प्रभाव पारिरहेको छ ।

विश्लेषकहरुका अनुसार यी सबै समस्याले सिमेन्ट उद्योगको भविष्यमा अनिश्चितता सिर्जना गरेको छ, त्यसैले पनि सिमेन्ट कम्पनीहरुले बैंकबाट कर्जा लिनुको सट्टा आइपीओ जारी गरी संकलन गरेको रकमले व्यापार विस्तार गर्न खोजेका छन् ।

त्यसमाथि, बैंकको कर्जा तिर्नका लागि पनि कम्पनीहरुले आइपीओ जारी गर्दैछन् । यता, मन्दीको असरबाट सूचीकृत सिमेन्ट पनि प्रभावित छन् । यसअघि घोराही सिमेन्ट र सोनापुर मिनिरल्सले पनि सेयर प्रिमियममा आइपीओ बिक्री गरेका थिए । पछि आइपीओ जारी गर्नुअघि निकै राम्रो देखिएको वित्तीय रिपोर्ट एकाएक बिग्रियो ।

आइपीओ पछि यी कम्पनीहरुले कुनै त्रैमासमा पनि नाफा कमाएनन् । तर, यिनीहरुको सेयर प्रिमियममा भने अरबौं रकम जम्मा छ । त्यो पनि आम्दानी गरेर होइन, सर्वसाधारण लगानीकर्ताबाट उठाएको रकम थुपारेर । यो पैसा कम्पनीहरुले चाहेको बेला लाभांश वितरण गर्न सक्छन् ।

नाफा कमाएको छैन तर रिटेन्ड अर्निङ धनात्मक छ भने पनि सेयरधनीहरुले करोडौं रकम लाभांशको रुपमा पाउँछन् । यस्तो हुने भएपछि जुन कुनै कम्पनीले पनि सेयर जारी गर्न खोज्नु स्वभाविक नै हो ।

तर, यस्तो बेला नियामकले भने कम्पनीहरुको वित्तीय अवस्थालाई गहण अध्ययन गरेर मात्रै सेयर बिक्रीका लागि अनुमति दिनुपर्छ । पहिला धेरैपटक फेल खाएपनि अब भने बोर्डले जस्तो पायो त्यस्तो कम्पनीलाई आइपीओ बिक्रीका लागि अनुमति दिन नहुने लगानीकर्ताहरुले आवाज उठाइरहेका छन् ।

यदि खराब वित्तीय अवस्था भएका कम्पनीहरुले आइपीओ बिक्रीका लागि अनुमति पाए भने आगामी दिन झनै खराब रिपोर्ट भएका नयाँ–नयाँ कम्पनीहरु बजार भित्रिन सक्छन् । तर, कम्पनीले राम्रो कारण प्रस्तुत गर्दै स्पष्ट योजनाहरु र दीर्घकालीन भविष्यको दृष्टिकोणसहित आइपीओ जारी गर्दछ भने बजारमा विश्वास र उत्साह पुनःनिर्माण गर्न सक्नेछन् ।

सिमेन्ट उद्योगमा ठूलो पुँजीको आवश्यकता पर्छ । विशेषगरी उत्पादन क्षमता वृद्धि गर्न, नयाँ प्लान्ट खोल्न, कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न र प्रविधि सुधार गर्नलाई थुप्रै रकम आवश्यक पर्छ । यता, नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ६ वटा सिमेन्ट कम्पनीहरुले आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेका छन् । जसमध्ये ३ वटाले प्रिमियमसहित साधारण सेयर बिक्रीका लागि अनमति मागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर