२०८२ बैशाख ५ शुक्रबार

काठमाडौं – लामो समयदेखि बैंक तथा वित्तीय संस्था अधिक तरलताको अवस्थामा छन् । अधिक तरलताको समस्या भोगिरहेका बैंक तथा वित्तीय संस्थाहरुले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले जारी गर्ने अल्पकालीन उपकरणहरुमा विस्तारै लगानी घटाउन थालेका छन् । विशषेगरी राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि जारी गर्ने निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा लगानी गर्दै आएका बैंकहरुले पछिल्लो समय यस्तो लगानी क्रमश घटाउँदै लगेका छन् ।

कर्जाको माग आउन थालेपछि बैंकहरुले अल्पकालीन उपकरणको लगानी क्रमश घटाएका हुन् । चैत लागेपछि नै २ पटक निक्षेप संकलन उपकरणमा मागभन्दा कम आवेदन परेको छ । चैत ३ गते केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब तन्न खोच्दा बैंक तथा वित्तीय संस्थाहरुले १५ अर्ब २० करोड रुपैयाँको लागि मात्रै आवेदन दिएका थिए । साथै, चैत १२ गते सोही उपकरणमार्फत केन्द्रीय बैंकले २५ अर्ब तान्न खोज्दा ९ अर्ब ४० करोड रुपैयाँका लागि मात्रै आवेदन दिएका छन् ।

केही समय पहिले केन्द्रीय बैंकले १ खर्ब, ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दा यसमा मागभन्दा बढी आवेदन पर्दै आएको थियो । पछिल्लो समय थोरै रुकमको उपकरण जारी गर्दा पनि मागभन्दा कम आवेदन परेको छ । यसले पछिल्लो समय बैंकहरुको कर्जा प्रवाहमा सुधारको संकेत गर्छ ।

यस्तै, बैंक–वित्तीय संस्थाले ३ दिने अवधिको स्थायी निक्षेप सुविधा (एसडीएफ) समेत घटाउँदै आएका छन् । फागुनमा एकैदिन ९८ अर्बसम्म एसडीएफ सुविधा लिएका बैंक–वित्तीय संस्थाहरुले चैत लागेपछि सबैभन्दा धेरै ५ गते ६१ अर्ब ४० करोड रुपैयाँ बराबरको यो सुविधा लिएका छन् ।

अल्पकालीन उपकरणमा बैंकहरुको लगानी घट्न थालेकाले कर्जाको माग आउन थालेको जानकारहरु बताउँछन् । निरन्तर घटेको ब्याजदर र सरकारले लगानी बढाउनका लागि निरन्तर गरेको आग्रह र लगानीमैत्री वातावरण प्रतिबद्धताका कारण अब विस्तारै कर्जा प्रवाह बढ्ने अपेक्षा बैंकरहरुको छ । पछिल्लो समय कर्जा प्रवाहमा केही सुधार संकेत देखिएको बैंकरहरु बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय