
काठमाडौं – पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) करिब १८ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल गैरबैंकिङ सम्पत्ति ४१ अर्ब ७४ करोड नाघेको छ । गत वर्षको माघसम्म बैंक–वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७८ करोड रुपैयाँ थियो ।
पछिल्लो १ वर्षमा बैंक–वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ७५.५० प्रतिशतले बढेको हो । वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै त्यसको असर गैरबैंकिङ सम्पत्तिमा देखिएको हो । १ वर्षमा बैंक–वित्तीय संस्थाहरुको औसत निष्क्रिय कर्जा १.१९ प्रतिशतले विन्दुले बढेको छ । गत वर्षको माघसम्म ३.७३ प्रतिशत रहेको औसत निष्क्रिय कर्जा यो वर्षको माघसम्म आइपुग्दा ४.९२ प्रतिशत पुगेको छ ।
वित्तीय संस्थाहरुको खराब कर्जा बढेसँगै गैरबैंकिङ सम्पत्ति उच्च दरमा बढिरहेको देखिन्छ । वित्तीय संस्थाहरुले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्दै आएका छन् । यसरी सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पत्ति हो । गैरबैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरुले यसको जोखिमबाट बच्न शतप्रतिशत रकम गैरबैंकिङ सम्पत्ति प्रावधानमा राख्नुपर्ने हुन्छ । यही कारण बैंकहरुको यस्तो सम्पत्ति रकम बढेको हो ।
गैरबैंकिङ सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने हुन्छ तर पछिल्लो समय अर्थतन्त्रमा आएको शिथिलताले बैंकहरुले यस्ता सम्पत्ति बिक्रीका लागि पटक–पटक सूचना जारी गरे पनि बिक्री गर्न सकिरहेका छैनन् । घर–जग्गा कारोबारसमेत सुस्ताएकाले यस्ता धितो बिक्री हुन नसकेका हुन् । यही कारण बैंकहरुमा गैरबैंकिङ सम्पत्ति उल्लेख्य दरमा बढिरहेको हो ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको माघको तुलनामा चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ७९.८९ प्रतिशत, विकास बैंकहरुको ४२.१२ प्रतिशत तथा फाइनान्स कम्पनीहरुको ७३.०९ प्रतिशतले बढेको छ । जसअनुसार माघ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको यस्तो सम्पत्ति ३५ अर्ब ८२ करोड, विकास बैंकको ३ अर्ब ५८ करोड र फाइनान्स कम्पनीहरुको २ अर्ब ३३ करोड रुपैयाँ छ ।