
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड अर्थात् ३.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित २०८१ पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँ अर्थात ६.६ प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ ।बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.८ प्रतिशत, २६.७ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ जबकि २०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो ।