२०८१ माघ २९ मंगलवार

काठमाडौं – अधिक तरलताको समस्या भोगिरहेका बैंक तथा वित्तीय संस्थाहरुले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले जारी गर्ने अल्पकालीन उपकरणहरुमा गर्ने लगानी घटाउन थालेका छन् ।

विशषेगरी राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि जारी गर्ने निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा लगानी गर्दै आएका बैंकहरुले पछिल्लो समय यस्तो लगानी क्रमश घटाउँदै लगेका छन् । कर्जाको माग आउन थालेपछि बैंकहरुले अल्पकालिन उपकरणको लगानी क्रमश घटाएका हुन् ।

नेपाल राष्ट्र बैंकले माघ १५ गते मंगलबार बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्न २१ दिने निक्षेप संकलन उपकरण जारी गर्यो । तर, १२ वटा बैंक वित्तीय संस्थाले १५ आवेदन मार्फत १५ अर्ब ५० करोड रुपैयाँ मात्रै राखे । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भयो । त्यस अघि माघ ९ गते जारी गरेको २१ दिने ९० अर्बको निक्षेप संकलनमा उपकरणमा पनि बैंकहरुले ७७ अर्ब ६५ करोड मात्र जम्मा गरे । त्यसअघि गत माघ ६ गते केन्द्रीय बैंकले ६० अर्ब रुपैयाँ माग्दा बैंकहरुले ५५ अर्ब २५ करोड मात्रै बुझाएका थिए । माघ २ गते यसै उपकरण मार्फत ४० अर्ब माग्दा १८ अर्ब १५ करोड मात्र बुझाएका थिए ।

माघ महिनामा जारी भएका अधिकांस निक्षेप संकलन उपकरणमा बैंकहरुले माग भन्दा कम मात्र बोल लगाएको देखिन्छ । माघ महिनामा जारी भएका ५ वटा निक्षेप संकलन उपकरणमा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले माग गरे भन्दा कम लगानी गरेका छन् । यसबाट बैंकहरुमा कर्जाको माग आउन थालेको बुझिन्छ । यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले ३ दिने अवधिको स्थायी निक्षेप सुविधा (एसडीएफ) समेत घटाउँदै आएका छन् ।

बैंकहरुले माघ १८ गते शुक्रबार २१ अर्ब मात्रै एसडीएफ लिएका छन् । यसअघि बैंकहरुले माघ १३ गते ४८ अर्ब ५ करोड, माघ १० गते ४४ अर्ब ८५ करोड, त्यसभन्दा अघि माघ ८ गते ५५ अर्ब ८० करोड एसडीएफ उपयोग गरेका थिए । माघ ६ गते ५२ अर्ब ९५ करोड एसडीएफ लिएका थिए ।

गत पुस २१ गते यता बैंक तथा वितीय संस्थाहरुले १ खर्ब माथिको स्थायी निक्षेप सुविधा (एसडीएफ) लिएको देखिदैन् । आर्थिक वर्षको सुरुवातमा गत साउन १ गते बैंकहरुले एकैदिन ३ खर्ब ७२ अर्ब २० करोडसम्म एसडीएफ लिएका थिए । सुरुवाती चरणमा ३ खर्ब बढी रकम एसडीएफमा राख्दै आएका बैंकहरुले पछिल्लो चरणमा ५० अर्ब भन्दा कम एसडीएफ लिदै आएका छन् ।

अल्पकालिन उपकरणमा बैंकहरुको लगानी घट्न थालेकाले कर्जाको माग आउन थालेको जानकारहरु बताउँछन् । निरन्तर घटेको ब्याजदर र सरकारले लगानी बढाउनका लागि निरन्तर गरेको आग्रह र लगानीमैत्री वातावरणको प्रतिबद्धताका कारण अब विस्तारै कर्जा प्रवाह बढ्ने अपेक्षा बैंकरहरुको छ ।

राष्ट्र बैंकले कर्जाको माग बढाउनका लागि बैंक वित्तीय संस्थाहरुमा रहेको पुँजी कोषको समस्या समाधान गर्ने उपाय अवलम्वन गरेको छ । राष्ट्र बैंकले बैंकहरुको पुँजी कोषमा सहज हुने गरी असल कर्जाको कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट घटाएर १.१ प्रतिशत कायम गरेको छ । यस्तै, रेगुलेटरी रिटेल फोर्टफोलियोको सीमा २ करोडबाट बढाएर २.५ करोड पुर्याइएकाले पनि बैंकहरुलाई कर्जा विस्तारमा सहयोग पुर्याउने राष्ट्र बैंकका एक अधिकारीले बताए।

त्यस्तै, अग्राधिकार सेयर लगायत विभिन्न उपकरणहरुमार्फत बैंकहरुको पुँजी कोषको दबाब कम गर्ने सुविधा दिएको छ । यस्तै काउन्टर साइक्लिकल बफर बापत ०.५ प्रतिशत विन्दुको अतिरिक्त पुँजी कोष थप गर्नुपर्ने भए पनि राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि शून्य प्रतिशत लाग्ने व्यवस्था गरेको छ । यसले समेत बैंक वित्तीय संस्थालाई कर्जा विस्तारका लागि ठूलो राहात प्रदान गरेको उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकहरुले निक्षेप संकलन उपकरणमा राखेको २ खर्ब ४६ अर्ब ५५ करोड तथा एसडीएफमा राखेको २१ अर्ब गरेर कुल २ खर्ब ६७ अर्ब ५५ करोड परिपक्क हुन बाँकी नै छ ।

राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा कुल ६७ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५४ खर्ब १५ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.४९ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब १७ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय