
काठमाडौं – सेयर बजार यो साता फेरि २५ सयकै लाइनमा झरेको छ । लामो समयदेखि बजार २५ सयदेखि २७ सयको लेबलमा घुमिरहेको छ । नेप्से माथि जान सकेको छैन । खासै तल आएको पनि छैन । समग्रमा हेर्दा बजार करिब ३ सय अंकको सेरोफेरोमै घुमिरहेको देखिन्छ । महिनौंदेखि बजार साइडवेजमै छ । यसअघि करिब ३ हजारको तहसम्म पुगेको २४ सयको लाइनसम्म झर्यो । त्यसयता भने यही करिब ३ सयलाई आधार मानेर बजार घुमिरहेको छ ।
नेप्सेले माथि जान पटकपटक प्रयास गरे पनि सकिरहेको छैन । यसअघि २७८० को तहलाई पार गर्न नसकेपछि बजार पुनः तल आएको हो । यस साता नेप्सेले २६ सयको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर २५ सयको लाइनमा झरेको छ । अब बजार मािथ जानका लागि केही सपोर्ट गर्ने टुल्सहरु चाहिने देखिन्छ ।
त्यसो त अब धमधम चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण आउन थाल्नेछ । रिपोर्ट सकारात्मक आउन सक्यो तथा नाफा बढ्यो भने त्यसले बजारलाई माथि लैजान सहयोग गर्ने देखिन्छ । तर नाफा थप बिग्रिएको वित्तीय विवरणहरु आएमा भने त्यसले सेयर बजारलाई थप सुस्त बनाउन पनि सक्नेछ । अहिले आम लगानीकर्ताले यही रिपोर्टहरु कुरिरहेको देखिन्छ ।
त्यसो त यस साता फाइनान्स समूहमा सबैभन्दा बढी गिरावट आयो । वित्तीय अवस्था कमजोर रहेका फाइनान्स समूह यसअघि बेस्सरी बढेकाले पनि अहिले करेक्सनमा गइरहेको देखिन्छ । पछिल्ला दिनहरुमा यसले पनि समग्र नेप्से सूचकमा असर गरेको पाइन्छ । कतिपय संस्थाको अवस्था खराब रहेको र केन्द्रीय बैंकले कारवाही गर्न सक्ने सम्भावना रहेकाले पनि यो समूह बढी प्रभावित भएको हो ।
यस्तै, यो समूहका अधिकांश कम्पनीहरुको दोस्रो त्रैमासको वित्तीय प्रदर्शन पनि राम्रो नहुने आशंका गर्दै लगानीकर्ताले सुरक्षित अवतरण खोज्दा सूचक थप प्रभावित भएको हो ।
समग्रमा माघ लागेपछि पनि सेयर बजार सुस्त नै देखिएको छ ।यसअघि माघको सुरुसँगै बजारले कति लिन सक्ने अनुमान गरिएको थियो । नेप्से फेरि २५ सयको लाइनमा झरेपछि लगानीकर्ताको मनोबल थप कमजोर बनेको देखिन्छ । यसैकारण अहिले सेयर कारोबारभन्दा पनि धेरैजसो लगानीकर्ता ‘वेट एन्ड वाच’ मुडमा रहेका हुन् ।
विशेषगरी, बैंक–वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात बेस्सरी बढ्ने र मुनाफा थप प्रभावित हुन सक्ने हल्ला बजारमा चलेपछि आम लगानीकर्ता फेरि एकपटक ‘पर्ख र हेर’ को अवस्थामा बसिरहेको देखिन्छ । यही कारण पनि बजार अहिले बढ्न सकिरहेको छैन ।
तर नाफा बढेको तथा तुलनात्मकरुपमा सन्तुलित वित्तीय विवरण आउन सक्यो भने बजारले रिपोर्टपछि पुनः गति लिन सक्ने देखिन्छ । तर रिपोर्ट बिग्रिएमा भने त्यसको केही प्रभाव सेयर बजारमा पनि पर्न सक्छ ।
त्यसो त बजार लगभग साइडवेजमा चलेको पनि ६ महिना हुन लगिसकेको छ । यसआधारमा अब विस्तारै सुधारको गति समाउनुपर्ने हो । तर अहिलेसम्म पनि कारोबार रकमले अपेक्षा अनुसार तेजी लिन सकेको छैन । तथ्यांकहरु हेर्दा सेयर धितो कर्जामा राम्रो वृद्धि भएको देखिन्छ ।
समग्र धितो कर्जा गत वर्षको तुलनामा २० प्रतिशतले बढिसकेको छ । अझ, मध्यम र ठूला लगानीकर्ताले यस्तो कर्जा झन्डै ५० प्रतिशतले बढाएका छन् । यो तथ्यांकले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्नेहरु बढिरहेका छन् । यसरी बजार प्रवेश गर्नेहरु बढ्दा सेयरको माग बढ्न जान्छ ।
फलस्वरुपः नेप्से माथि जानलाई सहयोग पुग्ने अनुमान गर्न सकिन्छ । यद्यपि, व्यवहारमा भने अहिलेसम्म सूचकको वृद्धि अपेक्षाकृत हुन सकेको छैन । यसअघि बजार निकै छोटो समयमा २ हजारबाट ३ हजारको तहसम्म पुगेकाले पनि अहिले लामो करेक्सनमा गएको कतिपयको तर्क छ । यद्यपि, निरन्तर घटेका ब्याजदर र बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले बजारमा विस्तारै सकारात्मक प्रभाव देखिने विश्लेषणहरु भइरहेका छन् ।
सर्वसाधारण लगानीकर्ताले भने जहिले पनि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरु छानेरै योजनाबद्ध ढंगले लगानी गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ । यस दिन २ सय ९६ कम्पनीको १ करोड १७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।