२०८१ माघ २५ शुक्रबार

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार कर्जा प्रदान गर्न पहिलो चरणमा १ हजार ३ सय १४ वटा परियोजना छनोट गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्राप्त भएको कूल ५ हजार १ सय ५८ वटा परियोजनासम्बन्धी प्रस्तावमध्ये प्रारम्भिक सूचीमा परेका परियोजनाको विवरण सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले नवउद्यमीहरुबाट भदौ ११ देखि भदौ ३१ सम्म प्रस्ताव आह्वान गरेको थियो । जसमा १ हजार ३ सय १४ वटा प्रस्ताव प्रारम्भिक सूचीमा परेका हुन् । प्रतिष्ठानले पहिलो चरणको छनौटमा परेका प्रस्तावहरुमाथि प्रस्तावकले प्रस्तुतीकरण दिनुपर्ने उल्लेख गरेको छ । प्रारम्भिक सूचीमा परेकाहरुको प्रस्तुतीकरण पुस २८ देखि चैत ११ गतेसम्म हुने तालिका छ । प्रस्तुतीकरणका लागि १० मिनेट समय तोकिएको छ। जसमा छनौटमा परेकाहरुले आफैँ उपस्थित भएर कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न सरकारले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अघि सारेको छ । स्टार्टअप कर्जाका लागि चालू आर्थिक वर्षमा १ अर्ब बजेट विनियोजन गरिएको छ ।

स्टार्टअपको लागि ३ प्रतिशत ब्याजदरमा विनाधितो कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरिएको छ । सो रकम परिचालन गर्न राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता भएको छ । कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरिएको छ ।

प्रस्तुतीकरण गरेका परियोजनाहरूको बैंकमार्फत क्रेडिट अप्राइजल गरी ५० वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने प्रस्तावलाई प्राप्ताङ्कको आधारमा प्राथमिकीकरण गरी कर्जा प्रवाह गर्न बैंकमा सिफारिस गरिनेछ । सिफारिसमा परेका उद्यमीहरूले बैंकको नियमानुसार साँवा र ब्याज रकम तोकिएको समयमा चुक्ता गरी सक्नुपर्नेछ ।

स्टर्टअप कर्जा पाउन उद्यम व्यवसाय दर्ता भएर १० वर्ष ननाघेको, कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको तथा नवीन तथा सिर्जनशील सोचलाई उद्यम व्यवसायको रुपमा रुपान्तरण गरेकोलगायतका मापदण्ड तोकिएका छन् । कर्जाको पहिलो किस्ता लिएको १ वर्षपछि साँवा र ब्याज भुक्तानी सुरु गर्नुपर्नेछ ।

प्रस्तुतीकरणका लागि छनौटमा परेका प्रस्तावकहरुले व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान वा भ्याट दर्ताको सक्कल प्रमाणपत्र, आर्थिक वर्ष २०८०/८१ को करचुक्ता भएको सक्कल प्रमाणपत्र, आधिकारिक प्रस्तावकको नागरिकता र व्यावसायिक प्रस्तुतीकरणको हार्डकपी समेत उपलब्ध गराउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय