
अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवद्र्धनका लागि सम्झौता गरेको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङले सातदोबाटोस्थित एनओसी कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा आयोजित ओलम्पिक डे २०२१ को विशेष समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । दराज अलिबाबा समूहको एक हिस्सा हो । अलिबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) को विश्वव्यापी पार्टनर रहेको छ ।
टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने उद्देश्य लिएको दराजले जनाएको छ । सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीको हौसला बढ्ने कम्पनीको भनाइ छ । ओलम्पिक खेललाई विश्व खेलकुद महोत्सवका रूपमा लिने गरिएको छ । टोकियो समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदैछ । दुई सयभन्दा बढी देशको सहभागिता रहने महोत्सवमा १२ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।