२०८३ बैशाख ५ शनिबार

पशुपतिनाथ मन्दिर परिसरमा एक महिना लामो कोटिहोम महायज्ञ भर्खरै सम्पन्न भएको छ । ख्यातिप्राप्त कथावाचक–वाचिकाहरूको प्रवचनका अतिरिक्त विभिन्न श्रष्टाहरुको धार्मिक एवं सांस्कृतिक प्रस्तुतिहरुसहित सम्पन्न उक्त कोटिहोममा सुदूरपश्चिमकै पहिलो म्युजिक एरेन्जर भुवन प्रकाश बडुले भजन प्रस्तुत गर्दा त्यहाँ उपस्थित भक्तजनहरूले विशेषरुपमा रुचाएको पाइयो ।

विभिन्न भाषाभाषीका गीत गाउन निकै खप्पिस बडुले भजन गीतलाई पनि त्यत्तिकै न्याय दिनुभएको टिप्पणी भक्तजनहरुले गरेका थिए । उहाँले देउडा गीतहरू, राना थारु गीतहरू, भोजपुरी गीतहरु, कुमाउने गीतहरूका साथै आधुनिक, लोक, पप, पूर्वेली काँठे गीतहरु र तामाङदेखि लिएर थुप्रै भाषाका गीत गाइसक्नु भएको छ । बहुप्रतिभाका धनी बडुको सोही प्रतिभालाई कदर गर्दै पशुपतिमा आयोजित महायज्ञ कोटीहोममा उहाँलाई आध्यात्मिक गुरुहरूद्वारा सम्मान समेत गरिएको थियो ।

कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका ४ मा जन्मिनुभएका चर्चित देउडा गायक भुवन प्रकाश बडु अहिले मूलतः देउडाकै कारण एक सफल र लोकप्रिय गायकका रुपमा चर्चाको शिखरमा हुनुहुन्छ । नेपाली सांगीतिक क्षेत्रमा तीन दशक लामोे यात्रा तय गरिसक्नुभएका गायक बडुले एक हजारभन्दा बढी गीतमा स्वर दिइसक्नुभएको छ । गायक बडु सांगीतिक पारिवरिक वातावरणमै जन्मिनुभएकोले सानै उमेरदेखि सांगीतिक क्षेत्रमा घुलमिल हुने मौका पाउनुभयो । पिता हंशराज बडु रामलीला नाटकहरु गर्ने भएकाले सानै उमेरदेखि धेरै कुरा सिक्ने अवसर मिल्यो । आफ्नो सांगीतिक जीवनको सबैभन्दा ठूलो प्रेरणाको श्रोत पिता नै भएको बताउने बडु पिताकै कारण विभिन्न ठाउँमा भजन गाउने र सुन्ने अवसर पाएको र क्रमिकरुपमा सांगीतिक क्षेत्रप्रति आकर्षण बढ्दै गएको बताउनुहुन्छ । २०५२ सालमा पहिलो गिती एल्बम ‘प्रयास’ बजारमा ल्याएपछि भने उहाँ व्यावसायिक रुपमै यस क्षेत्रमा लाग्नुभएको हो ।

एसएलसी उत्तीर्ण गरेपछि चाहिँ बडुले अध्ययनसँगै सांगीतिक अध्ययन र अभ्यासलाई एकैसाथ अघि बढाउनुभयो । यसक्रममा केही समय नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र कोहलपुरमा संगीत छहारी कार्यक्रमका साथै विभिन्न रेडियो एफएममासमेत सागीतिक कार्यक्रम संचालन गर्नुभएको थियोे । उहाँ गायक मात्र नभइ संगीत संयोजन (म्युजिक एरेन्ज) अनि वाद्यवादनको काम पनि गर्नुहुन्छ । म्यूजिक एरेन्जर र अभिनय क्षेत्रमा भने बडु नै सुदूर–पश्चिमको पहिलो व्यक्तित्व मानिनुहुन्छ । काठमाडौं र मुम्बइमा गरी उहाँका आफ्नै दुई रेकर्डिङ स्टुडियो पनि छन् ।

नेपालका विभिन्न ठाउँमा हुने सांगीतिक कार्यक्रम तथा मेला, महोत्सवमा प्रस्तुतिका लागि आयोजकहरुले बोलाइरहन्छन् उहाँलाई । उहाँले नेपालबाहेक युएइ र भारतको मुम्बइ, गोवा, बैङलोर, दिल्ली, पुना, गुजरात, वापी, सुरतलगायत विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिइसक्नुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको आजीवन सदस्यसमेत रहनुभएका बडुले आफ्नो कामको कदरस्वरुप यसअघि पनि रारा म्युजिक अवार्ड २०२३, इपिक नेपाल म्युजिक अवार्ड २०७५, जलजला नेशनल फिल्म एण्ड म्यूजिक अवार्ड २०२३ लगायत धेरै अवार्ड, पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर